Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

औषधि व्यवसायी संघ कोशीमा काफ्ले विजयी

उद्‌घोष सम्वाददाता
२८ माघ २०८१, सोमवार

विराटनगर । औषधि व्यवसायीहरूको संस्था नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको आइतबार भएको निर्वाचनमा विराटनगरका धनराज काफ्ले अध्यक्षमा विजयी भएका छन् । काफ्लेले झापा विर्तामोडका नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित काफ्लेले ७२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी बरालले ५१ मत प्राप्त गरेका छन् । निर्वाचित काफ्ले वर्तमान कार्यसमितिको खुद्रातर्फ उपाध्यक्ष र बराल वरिष्ठ उपाध्यक्ष छन् । 

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद कोइराला (झापा) ७८ मत ल्याई विजयी भएका छन् । उनले लक्ष्मीप्रसाद तिम्सिना (विराटनगर) लाई ३३ मतान्तरले पराजित गरेका हुन् । त्यस्तै थोक उपाध्यक्षमा विराटनगरका सुदिनध्वज श्रेष्ठले ६६ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी खेमराज बस्नेत (झापा) ले ५७ मत प्राप्त गरे । 

त्यसैगरि महासचिवमा लक्ष्मण माझी चौधरी (विराटनगर) ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । माझीले  रविन्द्र घिमिरे (सुनसरीका) लाई ३ मतको झिनो मतान्तरले पराजीत गरेका हुन् । 

त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल (झापा) ले ८१ मत ल्याई विजयी भएका छन् । उनले मोरङ गछियाका पुष्पराज पोखरेललाई ३८ मतको फराकिलो मतान्तरले पराजित गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश लुईटेलले जानकारी दिए । 

शनिवार सुरु भएको कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा काफ्ले र वरालले आ–आफ्नो समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । 

खुद्रातर्फको उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित १२ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । खुद्रातर्फको उपाध्यक्षमा दिलिप सुवेदी, कोषाध्यक्षमा प्रभातकुमार श्रेष्ठ र सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी सदस्यहरूमा शरद गौतम, खेमलाल काफ्ले, यामकुमार खड्का, बेदबहादुर थापा (गणेश), सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । 

निर्वाचनमा कोशी प्रदेशका ११ वटा शाखा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, निवर्तमान अध्यक्षहरु प्रदेश समितिका अध्यक्ष तथा सदस्यहरु, पूर्व अञ्चल समितिका अध्यक्षहरु गरि १ सय ३१ जना मतदाता थिए । जसमध्ये निर्वाचनमा १ सय २९ मत खसेको थियो ।

संघको दोस्रो प्रदेश अधिवेशनको शनिबार साँझ उद्घाटन गरिएको थियो ।

निर्वाचनमा अध्यक्षमा विजयी भएपछि काफ्लेले सबै मतदाता, अग्रज व्यवसायी तथा सहभागी व्यवसायीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए । उनले आफनो कार्यकालभर सबै औषधि व्यवसायीको हकहित र अधिकार प्राप्तीकालागि लागिपर्ने बताए ।

उनले आफुले प्रदेशमा रहेका ११ वटै शाखालाई व्यवस्थित रुपबाट संचालन गर्ने अवस्था सृजना गर्ने प्रतिवद्धता जनाए । नेपाल औषधि व्यवसायी संघ कोशीमा १३१ मतदाता  थिए । जसमध्ये सबैभन्दा बढी मोरङमा २२ मतदाता थिए । 

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved