Biratnagar, Morang, Nepal
४ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सात पटक घुँडाको शल्यक्रियापछि विराटनगरका क्रिकेटर सिद्धान्त लोहनीले लिए क्रिकेटबाट सँधैका लागि विदा

उद्‌घोष संवाददाता
३ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगरका क्रिकेटर सिद्धान्त लोहनीले सात पटक घुँडाको शल्यक्रियापछि व्यावसायिक क्रिकेटबाट औपचारिक रूपमा बिदा भएका छन् । उनले राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकै दिन १८ जुलाईको अवसर पारेर सन्यास घोषणा गरेका हुन् ।

चोटका कारण आफ्नो अन्तिम व्यावसायिक खेल तीन वर्षअघि नै भएको भए पनि अहिले औपचारिक रूपमा क्रिकेट यात्रालाई पूर्णविराम दिएको लोहनीले बताए ।

लोहनीले १८ जुलाई २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले डेब्यु गरेको ठीक ११ वर्षपछि १८ जुलाई २०२६ मै व्यावसायिक क्रिकेटबाट बिदा लिएको घोषणा गरेका छन् ।

जुलाई १८ आफ्नो जीवनको सबैभन्दा विशेष दिनका रुपमा स्मरणमा रहने उल्लेख गर्दै राष्ट्रिय टिमका तत्कालिन कप्तान पारस खड्काबाट क्यानको टोपी ग्रहण गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

क्रिकेटर लोहनीको सात पटक घुँडाको शल्यक्रियापछि पनि मैदानमा फर्किने प्रयास गरेका थिए । तर गम्भीर संक्रमणका कारण स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि अन्ततः देब्रे घुँडाको पूर्ण प्रत्यारोपण (टोटल लेफ्ट नी रिप्लेसमेन्ट) गर्नुपरेको थियो । 

त्यसपछि उनका खुट्टा पहिलेजस्तो नरहने, जीवनभर घुँडा पूर्ण रूपमा मोड्न नसक्ने अवस्था रहेको र व्यावसायिक क्रिकेटमा फर्किने सम्भावना समाप्त भएको उनले उल्लेख गरेका छन् । यद्यपि अहिले पनि हिंड्न सकिरहेकोमा आफू भगवानप्रति हरेक दिन कृतज्ञ रहेको उनले बताएका छन् ।

कम उमेरमै चोटका कारण आफ्नो क्रिकेट करियर टुंग्याउनुपरेकामा भने आफूलाई निकै दुःख महसुस भएको बताएका छन् । उनले क्रिकेटले दिएको सम्झना, अनुभव र सम्मान भने जीवनभर ताजै रहने बताएका छन् ।

सन्न्यास घोषणासँगै उनले आफ्नो क्रिकेट यात्राभर साथ दिने परिवार, साथीभाइ, प्रशिक्षक, ट्रेनर, फिजियोथेरापिस्ट तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । समर्थकहरूको माया, विश्वास, हौसला र साथले मैदानका हरेक क्षण अविस्मरणीय बनेको स्मरण गरेका छन् ।

व्यावसायिक क्रिकेटबाट सन्न्यास लिए पनि क्रिकेटसँगको सम्बन्ध नटुट्ने उनको भनाइ छ । अहिले साथीहरूसँग इन्डोर क्रिकेट खेल्न पाइरहेकोमा आफूलाई भाग्यमानी ठानेको उल्लेख गर्दै उनले निकट भविष्यमा क्रिकेटमै फरक भूमिकाबाट नयाँ यात्रा सुरु गर्ने इच्छा व्यक्त गरेका छन् ।

लोहनीले नेपाल क्रिकेट संघ, मोरङ जिल्ला क्रिकेट संघ, कोशी प्रदेश क्रिकेट संघ तथा आफूलाई विश्वास गरेर अवसर दिने सबै फ्रेन्चाइज टोलीप्रति विशेष आभार व्यक्त गरेका छन् । उनीहरूको विश्वास र साथकै कारण आफूले क्रिकेट खेल्ने सपना पूरा गर्न पाएको बताएका छन् ।

View : 58

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved