Biratnagar, Morang, Nepal
६ भदौ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

बालेन र रास्वपाप्रति एमाले महासचिव शंकर पोखरेलको टिप्पणी– ‘पपुलिजम लामो समयको चुनौती होइन’

बाबुराम भण्डारी
६ भदौ २०८३, शनिवार

Advertisement

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय उदाएका लोकप्रियतावादी राजनीतिक प्रवृत्तिलाई लामो समय टिक्ने चुनौतीका रूपमा नलिन एमाले कार्यकर्तालाई आग्रह गरेका छन् । उनले यस्तो राजनीतिक प्रवृत्तिको मुख्य चरित्र छिटो परिणाम खोज्ने र अपेक्षित परिणाम नआए त्यति नै छिटो निराशा उत्पन्न भई आफैं हराएर जाने खालेको हुने टिप्पणी गरेका हुन् ।

शनिबार विराटनगरमा आयोजित ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक विराटनगर महानगरस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने,– ‘जति छिटो यो शक्तिको उदय भयो, त्यति छिटो यसको पतनको सम्भावना पनि देखिन्छ, पपुलिजम लामो समयको चुनौती होइन, त्यसलाई सजिलै जित्न सकिन्छ ।’

उनले प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाको प्रवृत्तिमाथि टिप्पणी गर्दै संसदीय लोकतन्त्रमा राजनीतिक दलको भूमिका निर्वाह गर्न नसकेको बताए । संसद जनताबाट निर्वाचित प्रतिनिधिहरूको संस्था भएको र सरकार निर्माणमा संसद तथा राजनीतिक दलको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

पोखरेलले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति समेत प्रश्न उठाए । उनले शाहले संसद र आफ्नै दलको संसदीय दलको बैठकलाई पर्याप्त महत्व नदिएको आरोप लगाए ।

‘हाम्रो व्यवस्था संसदीय प्रणाली हो । सरकार कसले बनाउँछ ? संसदले बनाउँछ । दलको नेता कसले बनाउँछ ? सम्बन्धित पार्टीको संसदीय दलले बनाउँछ,’ पोखरेलले भने, ‘तर अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह संसदलाई पनि मतलब गर्दैनन्, दलको बैठकमा पनि जाँदैनन् ।’

उनले संसदीय लोकतन्त्रको आधार राजनीतिक दल भएको उल्लेख गर्दै दलहरूबीच संवाद, सहमति र सहकार्य नेपाली राजनीतिको विशेषता रहेको बताए । मतभेद भए पनि राजनीतिक दलहरूबीच संवादको परम्परा कायम रहनुपर्ने उनको भनाइ छ ।

‘नेपाली गणतन्त्रको विशेषता नै दलहरूबीचको संवाद हो । जति धेरै मतभेद भए पनि नेपालमा एउटा असल परम्परा छ—दलहरू संवाद गर्छन्,’ पोखरेलले भने, ‘संवाद, सहमति र सहकार्य नेपाली राजनीतिको विशेषता हो ।’

पोखरेलले एमालेले बदलिँदो राजनीतिक परिवेशअनुसार आफ्नो संगठनात्मक शैली र जनतासँग जोडिने माध्यम परिवर्तन गर्नुपर्ने बताए । परम्परागत संगठन संरचनासँगै नयाँ पुस्ता, सामाजिक सञ्जाल, युवा संगठन तथा स्थानीय सामाजिक संस्थामार्फत पार्टीको प्रभाव विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

‘हरेक वर्ष ६ लाख नयाँ मतदाता थपिन्छन् । हामी नयाँ मतदाताबीच पुग्न सकेनौं भने पाँच वर्षमा ३० लाख नयाँ मतदाता थपिन्छन्,’ पोखरेलले भने, ‘उनीहरूबीच पार्टी काम गर्न सकेनौं भने हरेक निर्वाचनमा थपिने ३० लाख मतदाता हामीबाट टुट्दै गए चुनाव जित्ने सपना देख्न सक्दैनौं ।’

उनले नयाँ पुस्तामा पुग्ने स्पष्ट योजना बनाउन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए । नयाँ पुस्तासँग जोडिन युवा संघलगायत पार्टीका जनसंगठनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । 

हरेक वर्ष करिब ६ लाख नयाँ मतदाता थपिने भएकाले उनीहरूसँग पार्टी जोडिन नसके पाँच वर्षमा ठूलो संख्यामा मतदाता पार्टीबाट टाढिने बताए ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्तासँग जोडिन नसके पार्टीले आगामी निर्वाचनमा चुनौती सामना गर्नुपर्ने बताएका छन् । उनले हरेक वर्ष थपिने नयाँ मतदातालाई लक्षित गर्दै पार्टीले संगठन, सामाजिक सञ्जाल र जनसंगठनमार्फत नयाँ पुस्तामा प्रभाव विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

महासचिव पोखरेलले विगतमा राजनीतिक दलले आयोजना गर्ने ठूला सभा र नेताका भाषणले लामो समयसम्म जनमत प्रभावित गर्ने गरेको भए पनि अहिले सामाजिक सञ्जालले त्यसको स्थान लिँदै गएको बताए । उनका अनुसार अहिले एउटा गलत सूचना केही समयमै भाइरल बन्न सक्ने भएकाले एमालेले सही सूचना र आफ्ना राजनीतिक एजेन्डा प्रभावकारी रूपमा जनतामाझ पु¥याउन सामाजिक सञ्जालमा बलियो उपस्थिति बनाउन आवश्यक छ ।

‘आज मोबाइलमा आउने नयाँ विषयले मान्छेलाई प्रभावित गर्छ । गलत कुराको चर्चा सामाजिक सञ्जालमा सुरु भयो भने भाइरल हुन थाल्छ,’ उनले भने, ‘हरेक विषयमा सही सूचना प्रदान गर्ने क्षमता हामीसँग भएन र फेक न्युज तथा गलत समाचार नै भाइरल भइरह्यो भने हाम्रो समर्थन घट्दै जान्छ ।’

आफूसँग जोडिएका सामाजिक सञ्जालका फलोअर र एमालेका संगठित कार्यकर्ताको उमेर समूहबीचको अन्तर देखाउँदै पोखरेलले पार्टीको जनसंगठन र सामाजिक सञ्जालको उपस्थितिबीचको दूरीसमेत औंल्याए । उनका अनुसार आफूले सामाजिक सञ्जालमा पाएका फलोअरमध्ये करिब ७० प्रतिशत ४४ वर्षभन्दा कम उमेरका छन् । तर एमालेका करिब ७० प्रतिशत क्याडर ४४ वर्षभन्दा माथिको उमेर समूहमा रहेको उनले बताए ।

‘सामाजिक सञ्जालमा ७० प्रतिशत ४४ वर्षमुनिका छन् भने हाम्रा ७० प्रतिशत क्याडर ४४ वर्षमाथिका छन्,’ पोखरेलले भने, ‘सामाजिक सञ्जालमा कम उमेरका मानिस सक्रिय छन् । त्यहाँ हाम्रो राजनीति कम छ भने सामाजिक सञ्जालमा हाम्रो प्रभाव पनि कम हुन्छ ।’

उनले सामाजिक सञ्जालको लडाइँ जित्न नयाँ पुस्ताले रुचाउने विषयवस्तु र सामग्री निर्माण गर्नुपर्ने बताए । पार्टीका विचार र राजनीतिक एजेन्डालाई नयाँ पुस्ताले बुझ्ने र मन पराउने शैलीमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।

महासचिव पोखरेलले पार्टी संगठनलाई चलायमान बनाउन हरेक कार्यकर्तालाई जिम्मेवारी दिनुपर्नेमा पनि जोड दि ए। महानगरभित्र रहेका सामाजिक संस्थामा पार्टीको प्रभाव विस्तार गर्नसमेत उनले कार्ययोजना बनाएर कार्यकर्ता परिचालन गर्न सुझाव दिए ।

‘विराटनगरमा कति क्लब छन्, हरेक क्लबभित्र पार्टीको प्रभाव विस्तार गर्ने भनेर एक–एक जना कमरेडलाई जिम्मेवारी तोकेर पठाउनुस्,’ उनले भने, ‘त्यसैलाई उहाँहरूले पार्टीले दिएको जिम्मेवारीका रूपमा लिनुपर्छ ।’

नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष नविन गिरीको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा एमाले मोरङका अध्यक्ष अजम्बर राई, एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेत, एमाले केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की लगायतले समसामयिक राजनीतिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए ।

View : 44

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved