Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

उद्घोष सम्वाददाता
९ मंसिर २०८१, आइतवार

झापा, ९ मङ्सिर । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ ।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । 

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनले बताए । 

कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

“एमबिबीएस पठनपाठनका लागि धेरै वर्षअघिदेखि हामी तयारी अवस्थामा थियौँ”, उनले भने, “धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक छ । अभ्यास गर्न विद्यार्थीले बीएण्डसी अस्पताल नै उपयोग गर्न पाउनेछन् ।”

कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाइएको छ ।  रासस

View : 24

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved