Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नेका मोरङ ६ (ख) को सभापतिमा रामसुन्दर राजवंशीको दाबेदारी

उद्‌घोष संवाददाता
१० असोज २०८३, शनिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा (ख) मा नेतृत्वको बहस तीव्र बनेको छ।

यही क्रममा लामो सांगठनिक पृष्ठभूमि र बौद्धिक छवि बनाएका नेता रामसुन्दर राजवंशीले प्रदेश सभा (ख) को सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् ।   

विराटनगर–११, बसपार्कस्थित राधाकृष्ण प्यालेसमा शुक्रबार आयोजित वडा भेलामार्फत उनले चुनावी मैदानमा उत्रिने उद्‌घोष गरेका हुन् ।

 

तल्लो तहबाटै संघर्ष गर्दै पार्टी संगठनमा दुई दशकभन्दा बढी समय निरन्तर खटिएका राजवंशीको यो दाबेदारीलाई मोरङ कांग्रेसको आन्तरिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

पार्टी राजनीतिमा भूइँतहबाटै खारिएका राजवंशी विराटनगर–११ को वडा समितिमा २० वर्षभन्दा बढी समयदेखि अनवरत क्रियाशील छन् ।

 

वडा सदस्यबाट यात्रा सुरु गरी वडा सचिव हुँदै उनले दुई कार्यकाल सफलतापूर्वक वडा सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

वडा तहमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसरोकारका मुद्दामा सधैँ अग्रमोर्चामा रहेका उनलाई निष्कलंक, जुझारु र भरपर्दो नेताका रूपमा स्थानीय कार्यकर्ताले मूल्याङ्कन गर्दै आएका छन् ।

राजवंशी केवल राजनीतिक कार्यकर्ता मात्र नभई बौद्धिक व्यक्तित्व पनि हुन् ।

 

समाजशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक तहको उच्च शिक्षा हासिल गरेका उनलाई सुझबुझपूर्ण, तार्किक र कानुनी चेत भएका नेताका रूपमा लिइन्छ ।

राजनीतिक अनुभवसँगै शैक्षिक योग्यताको यो संयोजनले उनलाई यस क्षेत्रकै बलियो र वजनदार उम्मेदवारका रूपमा स्थापित गरेको छ ।

‘बलियो संगठन र सक्षम नेतृत्व’ भन्ने मूल नारा अघि सार्दै राजवंशीले चुनावी अभियान थालेका छन् ।

 

प्रदेश सभा क्षेत्रलाई चलायमान, जनमुखी र पार्टीका निष्ठावान् कार्यकर्ताको आत्मसम्मानको केन्द्र बनाउन आफूले उम्मेदवारी दिएको उनले स्पष्ट पारे ।   

उम्मेदवारी घोषणापछि बोल्दै राजवंशीले भने, ‘पार्टीभित्रको आन्तरिक एकता, अग्रजहरूको सम्मान, युवाहरुको सहभागिता, निष्ठावान् कार्यकर्ताको कदर र पारदर्शी संगठन निर्माण नै मेरो मुख्य प्राथमिकता हो ।

वडा तहमा लामो समय सेवा गरेपछि अब प्रदेश निर्वाचन क्षेत्रलाई अझ सशक्त बनाउने संकल्पका साथ अघि बढेको छु ।’

 

राजवंशी चुनावी मैदानमा उभिएसँगै मोरङ ६ (ख) का पार्टी नेता तथा कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ ।

पार्टी संगठनलाई नयाँ उचाइ दिन र कार्यकर्ताको भावनाको कदर गर्न आफ्नो उम्मेदवारी रहेको भन्दै उनले सम्पूर्ण अग्रज, क्षेत्रीय प्रतिनिधि तथा क्रियाशील सदस्यहरूसँग समर्थनको अपिल गरेका छन् ।   

View : 43

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved