विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा युवा नेता कृष्णबहादुर कार्की भारी मतका साथ निर्वाचित भएका छन् । बिहीबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले ६४७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति पदमा कार्कीका प्रतिस्पर्धी केशव गिरीले १२६ मत प्राप्त गरे । कुल ७९६ मत खसेको निर्वाचनमा कार्कीले गिरीलाई ५२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
कार्की र गिरीबीच महानगर सभापति पदका लागि प्रतिस्पर्धा भएको थियो । दुवैले आइतबार कांग्रेस पार्टी कार्यालयमा मनोनयन दर्ता गराएका थिए भने बुधबार निर्वाचन सम्पन्न भएको थियो । बिहीबार अपराह्न मतगणना सकिएसँगै कार्की सभापतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत विकास थापाका अनुसार सभापति पदका लागि कार्की र गिरीको मात्रै उम्मेदवारी परेको थियो । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय भएका कार्की यसअघि पनि विराटनगर महानगर सभापति पदका प्रत्यासी थिए । कुनै समय कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट भनेर चिनिएका कार्की पछिल्लो समय गगन थापा लाइनकै संस्थापन धारमा खुलेका छन् ।
सामाजिक गतिविधिमा समेत सक्रिय कार्कीले पार्टीमा पुस्तान्तरणलाई केवल नेतृत्व परिवर्तनका रूपमा नभई नयाँ सोच, ऊर्जा र जिम्मेवारीको सुरुवातका रूपमा अघि सार्दै आएका थिए ।
महानगरको महिला उपसभापतिमा श्रुति शर्मा निर्वाचित भएकी छन् । उनले ४९५ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२६ मत प्राप्त गरिन् ।
खुला उपसभापति पदमा शुभाषिस कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी यसअघि नै सर्वसम्मत भइसकेका छन् ।
त्यस्तै, सचिव पदमा वीरेन्द्रप्रसाद यादव र सह–सचिवमा टीकाराम सापकोटा पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचन समितिका अनुसार महानगर समितिका सदस्य पदका विभिन्न क्लष्टरमा सर्वसम्मतबाटै चयन भइसकेका छन् ।
कार्कीको नेतृत्वमा नयाँ महानगर समिति चयन भएसँगै विराटनगर महानगरमा कांग्रेसको आगामी दिनमा पार्टी गतिविधि र कार्यकर्ता परिचालनको काम अझ प्रभावकारी हुने विश्वास लिएको कांग्रेस कार्यकर्ताहरुले बताए ।
View : 93
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved