Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढीमा बेपत्ताको संख्या ह्वात्तै बढेर पुग्यो ४ हजार २४७, प्राधिकरणले भन्यो- '९०३ जनाको शव भेटियो'

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता हुनेको संख्या एकै दिनमा झण्डै दोब्बरले बृद्धि भएको छ ।

जारी खोज, उद्धार तथा राहतसम्बन्धी सोमबार विहान सार्वजनिक भएको विवरण अनुसार बाढीपछि सम्पर्कविहिन हुने मानिसहरुको संख्या ४ हजार २४७ जना पुगेको छ ।

आइतबार साँझसम्म पनि २ हजार ५०२ जना सम्पर्कविहीन रहेको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको थियो । तर सोमबार विहान भने सम्पर्कविहिनको संख्या झण्डै दोब्बरले बढेको प्राधिकरणले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार नुवाकोटमा मात्रै १ हजार ५५८ जना मानिस सम्पर्कविहिन छन् । त्यसैगरी रसुवामा ८६५ जना वेपत्ता रहेको जनाइएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् । 

त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना रहेको प्राधिकरणले जनाएको छ ।

सोमबार विहानसम्मको विवरण अनुसार ९०३ जनाको शव फेला परेको छ । 

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन् । 

नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

हालसम्म १० हजार ४५१ जना नागरीकका उद्धार गरिएको प्राधिकरणले जनाएको छ । 

View : 27

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved