Biratnagar, Morang, Nepal
३ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

अतिवृष्टिको जोखिम, सशस्त्रको ‘रेडिनेस’

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

Advertisement

झापा । बंगालको खाडीबाट उत्तरतर्फ बढिरहेको वर्षा प्रणालीले अतिवृष्टिको सम्भावना बढाएसँगै पूर्वी नेपालको झापाका नदी–खोलामा बाढी र नदी किनारका बस्तीमा डुबानको जोखिमबाट जोगाउन सशस्त्र प्रहरीले माइकिङ गर्दैछ । 

सम्भावित क्षति रोक्न सशस्त्र प्रहरीले बाढी आउनुअघि नै देशभरका नदी किनारमा निगरानी र उद्धारको तयारी तीव्र बनाएको छ । 

झापामा मेची, कन्काई, रतुवा नदी तथा बिरिङ खोलालगायतका क्षेत्रमा सशस्त्र प्रहरीले पानीको सतह र बहावको नियमित निगरानीसँगै जोखिमयुक्त बस्तीमा सचेतनामूलक माइकिङ गरिरहेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका उपरीक्षक सचिन कर्माचार्यका अनुसार असोज ८ देखि १२ गतेसम्म नदी तथा खोला आसपासका गाउँबस्तीमा विपद्जन्य जोखिमसम्बन्धी सचेतनामूलक माइकिङ अभियान सञ्चालन भई रहेको छ । सम्भावित बाढीको जोखिम आई सशस्त्र प्रहरी उद्धारमा तयार रहेको गणले सन्देश दिएको छ ।

सम्भावित बाढी तथा डुबानका बेला खोज तथा उद्धारलाई छिटो र प्रभावकारी बनाउन आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको छ । 

सशस्त्रले नेपालमा बाढीजन्य जोखिममा परेका मानिसको उद्धारमा उदाहरणीय कार्य गर्दै आएको छ । 

सशस्त्र प्रहरीले जोखिमयुक्त नदी तथा खोलाको जोखिम नक्सांकन तयार गर्ने, नियमित पेट्रोलिङ गर्ने तथा पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबान हुनसक्ने स्थानमा विशेष निगरानी गर्ने जनाएको छ । 

नदी तथा खोलाको पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे नियमित अवलोकन गरी अभिलेख राखिनेछ । जोखिमको संकेत देखिएमा सम्बन्धित युनिटमा तत्काल सूचना आदानप्रदान गरी आवश्यक जनशक्ति परिचालन गर्न जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधि खटाइएको छ ।

सम्भावित अतिवृष्टिबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वसूचना, निगरानी, माइकिङ र तत्काल उद्धारको तयारीलाई एकीकृत रूपमा अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । मनसुनजन्य विपद्को जोखिममा देशभरका ६ सय ५० स्थानमा सशस्त्र प्रहरीको ११ हजार जनशक्ति परिचालन गरेको छ ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज र उद्धारलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले देशभर पूर्वतयारी तथा परिचालन योजना कार्यान्वयनमा ल्याएको हो । जोखिमयुक्त क्षेत्रमा थप जनशक्ति र उद्धार सामग्रीसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार विपद् व्यवस्थापन तालिमप्राप्त २ हजार ६० जना, १ सय ३३ जना गोताखोर तथा २ सय २४ जना ‘रोप रेस्क्यु’ सहित उच्च भूभागमा खोज तथा उद्धारसम्बन्धी तालिम प्राप्त जनशक्ति प्रत्यक्ष परिचालन गरिएको छ ।

डुबानमा परेका नागरिकको उद्धारका लागि १ सय ३ वटा ¥याफ्टिङ बोट र ५८ वटा मोटर बोट तयारी अवस्थामा राखिएका छन् । खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त के–नाइन डग स्क्वाड र पाचवटा विशेष ड्रोनसमेत परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

विपद्का कारण सडक अवरुद्ध भए तत्काल खुलाउन तथा हेभी रेस्क्युका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित वाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटरलगायत हेभी उपकरण तयारी अवस्थामा राखिएको नायव महानिरीक्षक कार्कीले बताए । 

सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी र बाग्मती नदी तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायतका उच्च जोखिमयुक्त नदी तथा खोलामा आवश्यक उद्धार सामग्रीसहित विपद् व्यवस्थापन जनशक्ति तयारी अवस्थामा राखिएको छ ।

यसैगरी सशस्त्र प्रहरीले र्‍याफ्ट एसोसिएसनसगको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशमा थप १०–१० वटा र्‍याफ्ट बोट पूर्वतयारी अवस्थामा राख्ने योजना बनाएको छ । 

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त पूर्वानुमान र आवश्यकताका आधारमा थप जनशक्ति परिचालन गर्ने रणनीतिसमेत तयार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

भीषण वर्षा र बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई माइकिङमार्फत उच्च सतर्कता अपनाउन आग्रह गर्ने भएको छ ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved