विराटनगर । चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजारको व्यावसायिक वातावरण, बजार व्यवस्थापन तथा व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीबारे मोरङ उद्योग व्यापार संघले सरोकारवाला व्यवसायीसँग छलफल गरेको छ ।
संघका अध्यक्ष अनिलकुमार साहको अध्यक्षतामा संघको सभाहलमा आयोजित कार्यक्रममा बजारलाई थप व्यवस्थित, गतिशील र व्यवसायमैत्री बनाउन चाल्नुपर्ने कदमबारे छलफल भएको हो ।
कार्यक्रममा स्थानीय व्यवसायीहरूले व्यापार–व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका नीतिगत तथा व्यवहारिक समस्या प्रस्तुत गरेका थिए ।
व्यवसायीहरूले दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तुको आयातमा कायम भन्सार मूल्यांकन, भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) उच्च हुँदा बजारमा मूल्यवृद्धि भई व्यापार प्रभावित भएको गुनासो गरेका थिए ।
यस्तै, एमआरपी लेबलिङ, स्थानीय तह र संघीय सरकारलाई तिर्नुपर्ने दोहोरो व्यावसायिक कर, घरबहाल तथा बहाल कर र फोहोर व्यवस्थापन शुल्क लगायतका विषयमा समेत व्यवसायीहरूले समस्या उठाएका थिए ।
चाडपर्वका समयमा मुख्य व्यावसायिक समय अर्थात् ‘पिक आवर’मा हुने अनुगमनले कारोबार प्रभावित हुने भन्दै व्यवसायीहरूले अनुगमन प्रणालीलाई व्यवस्थित बनाउन माग गरेका थिए ।
साथै, सीमावर्ती बिहारको ठूलो उपभोक्ता बजारलाई विराटनगरसँग जोड्न आवश्यक नीति तथा वातावरण निर्माण, डिजिटल कारोबार विस्तारसँगै क्यूआर भुक्तानीमा देखिएका प्राविधिक तथा व्यवहारिक समस्या तत्काल समाधान गर्नुपर्ने विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो ।
व्यवसायीका गुनासा तथा सुझाव सम्बोधन गर्दै अध्यक्ष साहले छलफलमा उठेका विषयलाई संघले उच्च प्राथमिकताका साथ अभिलेखीकरण गरेको बताए ।
उनले स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष साहले चाडपर्वका समयमा विराटनगर बजारलाई मर्यादित, उपभोक्तामैत्री र चलायमान बनाउन व्यवसायीहरूलाई आ–आफ्नो तर्फबाट समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved