Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो अस्पतालको २६ औँ वार्षिकोत्सव उदयपुरको गाईघाटमा

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । पूर्वी नेपालका नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले उदयपुरको गाईघाटमा विभिन्न सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरी आफ्नो २६औँ वार्षिकोत्सव मनाएको छ ।

अस्पतालले शनिबार आयोजना गरेको विशेष कार्यक्रमको सुरुवात ‘न्यूरो २६ गाईघाट रन’ मिनी म्याराथनबाट गरेको थियो । 

स्वास्थ्य सचेतना जगाउने उद्देश्यले आयोजित दौडमा कुल २६० जना धावक सहभागी भएका थिए । 

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित

प्रतियोगितापछि आयोजित सम्मान समारोहमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका १०० भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीय स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 

अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनप्रेमी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्नुका साथै विद्यालय परिसरमा साइकल पार्किङ स्ट्यान्ड निर्माण गरिदिएको जनाएको छ । 

त्यस्तै, विद्यालयको खानेपानी तथा शौचालय संरचना सुधार र मर्मतसम्भारका लागि अस्पतालका तर्फबाट आर्थिक सहयोगसमेत हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत, जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगत, जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई, न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्ट, कार्यकारी निर्देशक डा. अनिशा विष्ट, अपरेसन डाइरेक्टर राजेश भट्टराई लगायतको उपस्थिति थियो ।

नगर प्रमुख बस्नेतले ठूला सहरमा सीमित विशेषज्ञ स्वास्थ्य सेवा गाउँ–घरमै पु¥याउने न्यूरो अस्पतालको प्रयासको प्रशंसा गरे । कार्यकारी निर्देशक डा. अनिशा विष्टले पूर्वी नेपालका नागरिकलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताइन् ।

गाईघाटमा निःशुल्क स्वास्थ्य शिविर

वार्षिकोत्सव अभियानको अन्तिम चरणमा स्थानीय नागरिकका लागि बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा न्यूरो अस्पतालका विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरेका थिए । 

शिविरमा वरिष्ठ न्यूरोसर्जन डा. रोशन खतिवडा, अर्थोपेडिक सर्जन डा. अमित देव, जनरल सर्जन डा. प्रज्ज्वल खतिवडा, जनरल फिजिसियन डा. रमाकान्त राय, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. आशिषराज विष्ट, डेन्टल तथा म्याक्सिलोफेसियल सर्जनद्वय डा. अमितप्रताप शाह र डा. जितेन्द्र मण्डल लगायतका चिकित्सकले सेवा दिएका थिए ।

आफ्नै क्षेत्रमा प्रदेशस्तरीय विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी परामर्श पाएपछि स्थानीय नागरिकले राहत महसुस गरेको अस्पतालले जनाएको छ ।

View : 12

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved