भोजपुर । सुनसरीको धरानबाट भोजपुरको हतुवागढी आउँदै गरेको जिप दुर्घटना हुँदा बिहीबार आठ जनाको मृत्यु भयो । हतुवागढी गाउँपालिका–२ दिपेनीका एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकका परिवारकै अर्की एक सदस्य दुर्घटनामा गम्भीर घाइते छिन् । इटहरीबाट धरान हुँदै भोजपुरको दक्षिण क्षेत्र घोडेटारका लागि यात्रु बोकेर गएको को १ ज २५९३ नम्बरको बोलेरो जिप दिउँसो करिव साढे १० बजेतिर बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा सडकबाट करिब चार सय मिटर तल खस्दा आठ जनाको मृत्यु भएको छ । जहाँ एकै परिवारका ३ जनाको दुखद निधन भएको हो ।
दुर्घटनामा परी हतुवागढी–२ की पर्वतमाया राई, उनका छोरा चन्द्र प्रकाश राई र नाति (छोरीको छोरा) किशन राईको घटनास्थलमै मृत्यु भएको हो । सोही दुर्घटनामा गम्भीर घाइते भएकी छोरी शान्तिकला राईको भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले उपचार भइरहेको जनाइएको छ ।
उनीहरु धरानमा उपचारै गरेर घर फर्किदै थिए । तर उनीहरु घर पुग्न पाएनन् ।
प्रत्यक्षदर्शी धनकुमारी राईका अनुसार ओरालो सडकमा गुडिरहेको बोलेरो एक्कासि सडकबाट खसेको थियो । सडक छेउमा एकजना महिलाको शव देखेपछि आत्तिएर हेर्दा सडक मुनि गाडी पल्टिएको उनीहरूले थाहा पाएका थिए । जिपबाट उछिट्टिएका केही घाइतेहरूलाई भने चिच्याएका कारण उनीहरूलाई उद्धारकर्ता स्थानीयले भेटेर सडकमा निकालेका थिए ।
दुर्घटनाका कारण सिंगो हतुवागढी गाउँपालिका अहिले शोकमा डुबेको छ । गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले एकै घरमा तीनजनाको ज्यान गएका कारण असहज अवस्था उत्पन्न भएको बताए । उनले घाइतेहरूको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
त्यसैगरी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले पनि दुर्घटनाका कारण भएको जनधनको क्षतिले आफू मर्माहत भएको बताएका छन् ।
View : 289
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved