विराटनगर । दशैंको मुखैमा आयोजना हुन लागेको ‘विराट ट्रेड फेयर’ सीमापारि हुने किनमेल घटाउने योजनामा मुख्यरुपमा केन्द्रीत हुने भएको छ ।
उपभोगको पनि उत्सव मानिने दशैंमा सीमावर्ती भारतीय बजार जोगबनी नेपाली उपभोक्ताको भीडले खचाखच हुने गरेको छ ।
विराटनगरको स्थानीय बजार सुनसान हुने समस्या पुरानै हो । यसपटकको दशैं नजिकिदै गर्दा विराट व्यापार संघले विराट ट्रेड फेयरको तयारी तीव्र पारेको छ ।
दशैंको समयमा विराटनगरबाट ठूलो रकम जोगबनीतर्फ जाने गरेको भन्दै संघले स्थानीय बजारमै उपभोक्तालाई आकर्षित गर्ने गरी ट्रेड फेयरको आयोजना गरेको जनाएको छ ।
विराट व्यापार संघले असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा आयोजना गर्न लागेको ‘विराट ट्रेड फेयर’लाई यही मुख्य उद्देश्यसँग जोड्ने प्रयास गरेको संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिएका छन् ।
उनका अनुसार एक्स्पोको मुख्य उद्देश्य विराटनगरको बजारलाई दशैंको समयमा चलायमान बनाउनु र स्थानीय व्यापारमा उपभोक्ताको खर्च बढाउनु हो ।
‘दशैंमा विराटनगर सुनसान र बोर्डर गुलजार भन्ने कुरा हामीले जहिले पनि सुन्दै आएका छौं,’ जिन्दलले सोमबार उद्घोषसँग भने, ‘यो अवस्था परिवर्तन गर्न र विराटनगरको व्यापारलाई चलायमान बनाउन हामीले यो एक्स्पो आयोजना गरेका हौं ।’
उनका अनुसार विराटनगरलाई पुनः ‘सपिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयासका रूपमा पनि एक्स्पोलाई अघि बढाइएको छ । स्थानीय बजारमा आवश्यक वस्तु, सेवा र मनोरञ्जन एकै ठाउँमा उपलब्ध गराएर दशैंको किनमेलका लागि उपभोक्तालाई विराटनगरमै रोक्ने आयोजकको लक्ष्य छ ।
विराटनगरका व्यवसायीले लामो समयदेखि सीमावर्ती भारतीय बजारमा हुने नेपाली उपभोक्ताको किनमेललाई स्थानीय व्यापारको चुनौतीका रूपमा उठाउँदै आएका छन् ।
दशैं, तिहारजस्ता ठूला चाडपर्वमा यो समस्या अझ बढी देखिने व्यवसायीहरूको भनाइ छ । अध्यक्ष जिन्दलले स्वदेशी बजारमा खरिद गर्दा उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा हुने बताए ।
‘हामीले देशको पैसा देशमै रहोस् भन्ने उद्देश्य राखेका छौं,’ उनले भने, ‘यहाँ किन्दा उपभोक्ता र व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।
सरकारले ल्याएका क्युआरसम्बन्धी प्रोत्साहनका कार्यक्रमबाट पनि लाभ लिन सकिन्छ ।’ उनले सीमापारि खरिद गर्दा सामानमा समस्या आएमा उपभोक्ताले गुनासो राख्ने ठाउँसमेत सहज नहुने बताए । ‘त्यहाँ गएर कुनै ‘कम्प्लेन’ गर्ने ठाउँ हुँदैन ।
‘एक्सपायरी’ सामान दिन सक्छन्, कहिले के समस्या हुन्छ,’ उनले भने, ‘तर आफ्नै देशमा खरिद गर्दा उपभोक्ताको गुनासो सुन्ने र समाधान गर्ने संयन्त्र हुन्छ ।’
नौ दिन सञ्चालन हुने एक्स्पोमा विभिन्न क्षेत्रका व्यवसायी तथा उत्पादकका स्टल रहने छन् । खाद्यान्न, कपडा, जुत्ताचप्पल, फर्निचर, टायल्स, विद्युतीय गाडी तथा स्कुटरलगायतका वस्तु प्रदर्शन तथा बिक्रीका लागि राखिने छन् ।
एक्स्पोमा घरायसी आवश्यकताका वस्तुका साथै इन्टेरियर डिजाइनिङसम्बन्धी सामग्रीका स्टलसमेत रहने छन् ।
नेपालमै उत्पादन भएका सोफा, बेडलगायतका फर्निचर तथा इन्टेरियर सामग्रीलाई विशेष रूपमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । खाद्यान्नतर्फ सरकारी संस्थाका स्टलसमेत रहने छन् ।
नेपाल खाद्य संस्थानअन्तर्गत चामल, चिनी लगायतका खाद्यान्न सरकारी मूल्यमा उपलब्ध गराउने गरी स्टल राखिनेछ । दुग्ध विकास संस्थान (डीडीसी) पनि एक्स्पोमा सहभागी हुने भएको छ ।
एक्स्पोमा कोशी प्रदेशमा उत्पादित वस्तुलाई पनि प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।
प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गत प्रदेशमा उत्पादित ढाका, अल्लो, मह तथा अन्य स्थानीय र अर्गानिक उत्पादनका स्टल राखिने छन् ।
‘प्रदेशमा उत्पादित विभिन्न किसिमका ढाका, अल्लो, महदेखि अर्गानिक सामानसम्मका स्टल ल्याउँदैछौं,’ जिन्दलले भने, ‘स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र बजारसँग जोड्ने उद्देश्य पनि हो ।’
विराटनगरमा हुने व्यापारिक गतिविधिमा कोशीका अन्य जिल्लामा उत्पादित वस्तुलाई जोड्दा स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिने आयोजकको अपेक्षा छ ।
यसपटकको एक्स्पोमा परम्परागत व्यापारिक स्टलसँगै प्रविधिलाई पनि आकर्षणका रूपमा जोडिने जिन्दलले बताए । आयोजकले ‘फ्युचर फ्रेन्ड अफ नेपाल’को सहयोगमा एआई रोबोट प्रदर्शनमा राख्ने भएको छ । विशेषगरी स्कुल तथा कलेजका विद्यार्थी र युवालाई लक्षित गरेर रोबोट राख्न लागिएको जिन्दलले बताए ।
एक्स्पोमा दिनभर व्यापारिक तथा उत्पादनका स्टल अवलोकन गर्न सकिनेछ भने साँझ सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । विभिन्न फुड स्टलसमेत रहने भएकाले दशैंको समयमा परिवार र साथीभाइसँग समय बिताउने थलोका रूपमा एक्स्पोलाई विकास गर्न खोजिएको आयोजकले जनाएको छ ।
एक्स्पो प्रवेशका लागि ५० रुपैयाँको टिकट निर्धारण गरिएको छ । टिकटसँगै विभिन्न कम्पनीका उत्पादन तथा सामानका कुपन उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । एक्स्पोको अन्तिम दिन मेगा लक्की ड्र आयोजना गरिनेछ ।
त्यसमा पहिलो पुरस्कारका रूपमा गोगो ईभीको विद्युतीय स्कुटर, दोस्रो पुरस्कार एरियलको एसी र तेस्रो पुरस्कार एरियलको टेलिभिजन राखिएको छ । त्यसबाहेक विभिन्न कम्पनीका १७ वटा सान्त्वना पुरस्कारसमेत राखिएको जिन्दलले बताए ।
उनका अनुसार एक्स्पोमा एक लाखभन्दा बढी मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठान एक्स्पोका प्रायोजक तथा साझेदारका रूपमा जोडिएका छन् । स्वास्थ्यतर्फ प्राइम हस्पिटलले विशेष स्वास्थ्य परीक्षण क्याम्पसहित स्टल राख्ने भएको छ ।
विराटनगर आँखा अस्पतालले ‘आँखादान महादान’ अभियानअन्तर्गत स्टल राख्नेछ । त्यस्तै इन्टरियर डिजाइनिङ, इन्टरनेट, बिमा, सुरक्षा तथा अन्य सेवासम्बन्धी साझेदार संस्थाका स्टलसमेत रहने आयोजकले जनाएको छ ।
View : 47
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved