Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

नृसिंह चतुर्दशी : महिमा, कथा र व्रत विधि

वैशाख शुक्ल पक्षको चतुर्दशीका दिन नृसिंह चतुर्दशी पर्दछ। यही दिनलाई नृसिंह चतुर्दशी भनेर मनाउने गरिन्छ।
डिल्लीराम अधिकारी
१६ वैशाख २०८३, बुधवार

बिहीबार (वैशाख १७ गते ) नृसिंह चतुर्दशी हो। आजकै दिन सर्वशक्तिमान् परमात्मा भगवान् नृसिंह रूपमा प्रकट हुनुभएको थियो।

यसकारण आजको दिनलाई नृसिंह चतुर्दशी भनेर मनाउने गरिन्छ। यस दिन भगवान् नृसिंहको पूजाआजा गरी व्रत लिने चलन पनि छ।

जब स्वयम् प्रकाश परमात्मा भक्तलाई सुख दिन अवतार ग्रहण गर्नुहुन्छ, त्यो दिन, महिना र तिथि पनि पुण्यकारी हुन्छन्; जसको नाम मात्रको उच्चारणले मोक्षको प्राप्ति हुन्छ।

हिरण्यकशिपु दैत्यको विनाश गर्न तथा भक्त प्रह्लाद र धर्मको रक्षाका लागि भगवान् नृसिंहको रूपमा प्रकट हुनुभयो।

 

प्रह्लाद हिरण्यकशिपुका छोरा थिए। सानैदेखि उनलाई हिरण्यकशिपुले राक्षसी विद्या पढाउन चाहन्थे तर त्यसको ठीक विपरीत उनी 'हरि हरि' भनेर भगवान्‌को नाम जपिरहन्थे।

चौबीसै घण्टा हरिको नाम लिएको हुनाले हिरण्यकशिपु साह्रै क्रोधित भएर "यो मेरो शत्रुको नाम लिने ?" भनी प्रह्लादलाई मार्न कहिले पहाडबाट खसाल्ने, कहिले बाघको खोरमा हाल्ने, कहिले नागहरूले डसाउने त कहिले बहिनी होलिकासँग आगोमा हालिदिने गरे।

होलिकाले आगोमा नडढ्ने वर प्राप्त गरेकी थिइन् तर भगवान्‌को भक्तलाई जलाएर मार्न खोजेकाले होलिका त जलिन् तर ती सबै ठाउँमा भगवान् श्री हरिले प्रह्लादलाई बचाउनुभयो।

'भगवान् नृसिंह (हरि) सर्वत्र व्यापक छन्' भन्ने कुरा थाहा पाएपछि प्रह्लादलाई हिरण्यकशिपुले घरको एउटा खम्बा देखाएर "के यो खम्बामा पनि तेरो हरि छन् ?" भनी सोध्यो। 'सर्वत्र छन्' भन्दा त्यो खम्बाबाट भगवान् नृसिंह प्रकट हुनुभयो र हिरण्यकशिपुलाई काखमा राखेर नङले पेट चिरेर मार्नुभयो।

भगवान् नृसिंहको मुख सिंहको जस्तो थियो भने घाँटीभन्दा मुनि मान्छेको रूप थियो। त्यो समय साँझको थियो।

पहिले हिरण्यकशिपुले ठूलो तपस्या गरी ब्रह्माबाट 'न मनुष्यबाट, न पशुबाट, न बाँदरबाट, न पृथ्वीबाट, न दिनमा, न रात्रिमा, न भित्र, न बाहिर, न जलमा, न स्थलमा, न शस्त्र, न अस्त्रबाट; कसैबाट पनि म नमरूँ, कसैले पनि मलाई मार्न नसकून्' भन्ने वर पाएको थियो।

 

जब हिरण्यकशिपु नामको दैत्यलाई वध गरेर बालक भक्त प्रह्लादलाई भगवान्‌ले काखमा लिनुभयो, तब प्रह्लादले भगवान्‌सँग सोधे, "हे सर्वव्यापी भगवान् नारायण ! नृसिंहरूपी अद्भुत रूप धारण गर्ने तपाईंलाई नमस्कार छ। हे प्रभु ! म तपाईंको प्रिय कसरी भएँ ? मलाई यो कुरा भन्नुहोस्।"

भगवान्‌ले भन्नुभयो, "तिमी पूर्वजन्ममा ब्राह्मणपुत्र थियौ। तिमीले वेदाध्ययन गरेनौ। त्यो बेला तिम्रो नाम वासुदेव थियो। त्यो जन्ममा तिमीले कुनै पुण्य कार्य गरेनौ, केवल मेरो व्रत गऱ्यौ। त्यही व्रतको प्रभावबाट मेरो भक्ति प्राप्त भयो। परापूर्वकालमा ब्रह्माले सृष्टि रचनाका लागि यो व्रत गरेका थिए। मेरो व्रतको प्रभावबाट यो चराचर जगत्‌को सृष्टि गरे। जुन स्त्री वा पुरुषले यो व्रत गर्दछ, उसले मोक्षरूपी फल प्राप्त गर्दछ।"

 

प्रह्लादले पुनः सोधे, "म तपाईंको प्रीति र भक्ति प्रदान गर्ने नृसिंह चतुर्दशीको व्रतको विधि सुन्न चाहन्छु। कृपया मलाई बताउनुहोस्।"

भगवान् भन्नुहुन्छ, "यो व्रत मेरो प्रादुर्भावसँग सम्बन्धित छ। वैशाख शुक्ल पक्षको चतुर्दशीका दिन नृसिंह चतुर्दशी पर्दछ। यो दिन विधिपूर्वक बिहानै नदी, कुवा वा घरैमा स्नान गरी 'भगवान् ! आज म तपाईंको व्रत राख्दै छु, यसलाई निर्विघ्न पूरा गराउनुहोस्' भनी सङ्कल्प लिनुपर्दछ।

व्रतालुले यो दिन दुष्ट पुरुषसँग वार्तालाप गर्नु हुँदैन। दिउँसो गोबर र माटोले लिपी राम्रो मण्डप बनाउने, केराका खम्बासहित राम्रा-राम्रा तोरण लगाउने, अष्टदल कमलको रेखी हाली बीचमा पञ्चरत्नसहित कलश राख्ने, कलशमाथि चामलको थाली राख्ने र त्यसमा लक्ष्मीसहितको मेरो प्रतिमा राख्ने।

त्यसपछि त्यो प्रतिमालाई पञ्चामृतले स्नान गराउने र शास्त्रज्ञ, लोभरहित ब्राह्मणलाई बोलाई भगवान्‌को पूजा गराउनु।

ऋतुअनुसारको फलफूल चढाउनु र षोडशोपचारले तिल र तुलसी चढाई विधिपूर्वक पूजा गर्नु।

रातमा पुराणद्वारा प्रतिपादित मन्त्र तथा श्लोकद्वारा पाठ गर्नु। पूजामा एउटा ठूलो दियो बाल्नुपर्दछ। अन्त्यमा शङ्ख र घण्टी बजाएर भगवान्‌को आरती गर्नुपर्दछ। ब्राह्मणलाई यथाशक्य दक्षिणा दिनु र भोजन पनि गराउनुपर्दछ।

जसले मध्याह्नकालमा यथाशक्ति यो व्रतको अनुष्ठान गर्दछ र भगवान् नृसिंहसहित लक्ष्मीको पूजा गर्दछ, त्यसले श्री नृसिंह भगवान्‌को आशीर्वाद पाउँदछ र मनोवाञ्छित फल पाउँदछ।"

एतन्महापुण्यमलं पवित्रं धन्यं यशस्यं पदमायुराशीषाम् । प्राणेन्द्रियाणां युधि शौर्यवर्धनं नारायणान्ते गतिरङ्ग शृण्वताम् ।।

भगवान् नृसिंहको यो चरित्र अत्यन्त पुण्य, परमपवित्र तथा यश प्राप्ति गराउने, आयुवर्धक कामनाहरूको पूर्ति गराउने तथा युद्धमा प्राण र इन्द्रियहरूको शक्ति बढाउनेवाला छ। जो मानिसले भगवान्‌को यो चरित्र सुन्दछ, उसलाई अन्त्यमा परमेश्वरको आश्रय प्राप्त हुन्छ।

हरि ॐ तत्सत् ।

View : 232

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved