सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुन लागेको बाहृवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले देश विदेशका गरी लाखौं धार्मिक भक्तजनको मेलामा सहभागिता रहने जनाएको छ । मेला चैत २७ देखि बैशाख २८ गते सम्म लाग्नेछ ।
मेलामा दर्बिलो सुरक्षा व्यवस्था गरिने आयोजकले जनाएको छ । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल, भारत, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकबाट समेत भक्तजनहरू सहभागी हुने भएका छन् ।
अध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा एक महिने पूर्णमहाकुम्भ मेला लाग्ने भएपछि सम्पूर्ण क्षेत्र उत्साहित भएको कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरू बालसन्त मोहनशरण देवाचार्यले बताए ।
उनले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावमा विकाश हुने हुँदा देश विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढेर जाने उल्लेख गदै बर्सेनि धर्मका नाममा विदेशिने रकम रोक्न पनि कुम्भ मेला आवश्यक भएको जानकारी दिए ।
मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिकाले मुख्य जिम्मेवारी लिएर तयारीका काम गरिरहेको नगर प्रमुख रमेश कार्कीले बताए । मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका लागि पहल भएको साथै मेला अवधिभर चतरामा मदिरा, माछा, मासु बिक्री वितरणमा निषेध गरिएको नगर प्रमुख कार्कीले उल्लेख गरे ।
नेपाल र नेपालीको गौरव अनि लामो समयको पर्खाईमा आउने धार्मिक रूपमा सम्मानपूर्वक हेरिएको कुम्भमेलामा हुने स्नानको समेत अध्यात्मिक पक्षमा ठूलो महत्व रहेको अग्रज पत्रकार तथा साहित्यकार कुष्णविनोद लम्सालले बताएका छन् ।
उनले शुभकर्मका लागि समेत कुम्भमेलाको महत्व बढेको बताउँदै मानिसको जीवनमा धर्म र संस्कृतिको आवश्यकता भएकाले चतराधाममा लाग्ने कुम्भमेलामा जाने भक्तजनको मन समेत अति नै हर्षित हुने गरेको जानकारी दिए ।
कुम्भमेलामा कोटिहोम, वेदपाठ, पुराणवाचन, स्वदेश तथा विदेशका जगद्गुरू, शङ्कराचार्यहरू, धर्माचार्यको सहभागिता प्रवचन, भजनकीर्तन, शास्क्रार्थ सम्मेलन लगायत महास्नान लगायतका कार्यत्रम राखिएका छन् । बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ ।
राष्ट्रपति राचन्द्र पौडेलले उद्घाटन गर्ने कुम्भमेलामा संघीय सरकार र सबै प्रदेश सरकरालाई निमन्त्रणा भइसकेको जगदगुरू बाससन्त महाराजले बताए ।
त्यसैगरी भारतको छत्तिसगढ, अयोध्या, बनारस, वृन्दावन, दिल्ली, आन्ध्रप्रदेश बंगाल, विहार, आसाम, सिक्किम, दार्जिलिङ्ग आदि क्षेत्रबाट जगद्गुरु धर्माचार्य, महामण्डलेश्वर, सन्त, महन्तहरूको पनि उत्साहजनक उपस्थिति हुने आयोजकले उल्लेख गरेको छ ।
अमेरिकास्थित अन्तर्राष्ट्रिय निम्बार्क आध्यात्मिक परिषद्बाट धर्माचार्य भागवतशरणजी महाराज लगायत करिब ५० जनाको टोली (नेपाल) चतराधाम आइसकेको बालसन्त महाराजले उल्लेख गरे ।
यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ चैत ६ गते देखि एक महिना सम्म सञ्चालन भएको थियो । त्यसैगरी २०६३ चैत ६ गते देखि एक महिनासम्म अर्धकुम्भका रूपमा प्राचीन हरिद्वार चतरामा मेला लागेको थियो ।
View : 424
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved