विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरूले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रर्दशन गरेका छन् ।
पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स , मेकानिकल र आईटी इञ्जिनियरिङको डिप्लोमा तहमा अध्यनरत अन्तिम सेमेष्टरका विद्यार्थीहरूले बुधबार आफूहरूले निर्माण गरेका परियोजनाहरू प्रदर्शन गरेका हुन् ।
मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढास्थित पोलिटेक्निकमा बुधवार भएको प्रदर्शनका क्रममा आईटी विभागका विद्यार्थीहरूले स्मार्ट पुस्तकालय प्रणाली, छात्रावास व्यवस्थापन, अनलाइन किनमेल, डिजिटल मतदान, आर्मी एडमिनिष्टरी एपदेखि स्मार्टहोम अटोमेसन र स्मार्ट होम सुरक्षा प्रणालीसँग सम्बन्धित एप र पोर्टलहरू प्रर्दशन गरेका थिए ।
विद्यार्थीहरूले निर्माण गरेका सबै पोर्टल र एपहरू सहज रुपमा प्रयोगमा ल्याउन सकिने र कतिपय प्रयोगमा आउन थालिसकेको आईटी विभाग प्रमुख इञ्जिनियर युवराज चौधरीले बताए ।
यसैगरि इलेक्ट्रिकलतर्फका विद्यार्थीहरूले अटोविद्युत्त हुकिङ कन्ट्रोल प्रणाली, माइक्रो हाइड्रोपावर, विद्युत्त ओभरलोड कन्ट्रोल प्रणाली, भूमिगत केवल लोकेसन ट्रयाक प्रणाली लगायतका उपकरण प्रदर्शन गरे ।
यसैगरी इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्सका विद्यार्थीहरूले बाढी प्रकोपका बेला प्रयोग गरिने ओभरवाटर अलआर्म प्रणाली , मोवाइलमा प्रयोग गर्न सकिने अटोस्मार्ट साइन ट्रान्सलेटर र पोखरीमा जमेको पानीको फोहोर सफा गर्ने रिमोट कन्ट्रोल वेस्ट कलेक्टर अनि शहरी क्षेत्रमा प्रयोग गर्न सकिने इलेक्ट्रिक अटो ट्राफिक कन्ट्रोल प्रणाली लगायतका उपकरणहरू प्रदर्शन गरे ।
मेकानिकल इञ्जिनियरिङ तर्फका विद्यार्थीहरूले चाँही दुर्घटना कम हुने अटोरिक्सा, पेट्रोल र ब्याट्री दुबैबाट कुद्ने मोटरसाइलकल अनि इन्धन विनै प्रयोग गर्न सकिने धान काट्ने मेसिन र घाँस काटने इलेक्ट्रिक मेसिन प्रदर्शन गरे ।
सिभिल तर्फका विद्यार्थीहरूले चाँही विश्वविद्यालयको प्रशासनिक भवन,परीक्षा भवन, छात्रावास भवनको ढाँचा निर्माण गरेका थिए । विद्यार्थीहरूले निर्माण गरेका प्राविधिक परियोजनाको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, रजिष्ट्रार डा किशोर अधिकारी, संरक्षण समिति सदस्यहरू सत्यनारायाण चौधरी, राजन केसी, बलभद्र थारूसहित बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, पोलिटेक्निकका प्राचार्य इञ्जिनियर सुदिप अधिकारी लगायतले अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा पालिका अध्यक्ष थापाले उत्कृष्ट परियोजनालाई परिष्कृत गर्न पालिकाले सहयोग गर्न बताए ।
उपकुलपति डा सुवासश्रीले चाँडै विश्वविद्यालयले प्रदेश सरकारसँग सहकार्य गरेर विद्यार्थीहरूले निर्माण गरेका स्टार्टअप परियोजनाहरूको बृहत्त प्रर्दशनी आयोजना गराउन लागेको जानकारी गराए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा इञ्जिनियरिङ बिषय अध्यन गर्ने विद्यार्थीहरूले हरेक बर्ष आफूहरूले निर्माण गरेका विभिन्न परियोजनाहरू प्रदर्शन गर्दै आएका छन् ।
View : 16
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved