Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बैंकको जग्गामा वडाध्यक्षको मनपरी

कमल रिमाल
६ पुष २०८०, शुक्रवार

विराटनगर । मोरङ धनपालथान गाउँपालिका– ६ का वडाध्यक्ष मोहम्मद हुसेन आफ्नो कार्यालयमा बैंकले दिएको निवेदन आफ्नै परिवारको बिरूद्धमा आएपछि छक्क परे । 

उनको परिवारले बैंकको नाममा रहेको जमिनमा जथाभाबी उत्खनन् गरिरहेको थियो । कामना विकास सेवा बैंक विराटनगर शाखाले बुधबार वडा कार्यालय र प्रहरी चौकी कर्सियामा एकैसाथ हुसेन बिरूद्धको निवेदन दर्ता गरेको थियो ।

निवेदन लिने एउटा कार्यालयको अध्यक्ष नै हुसेन थिए । बैंकका शाखा प्रबन्धक नविन कार्कीका अनुसार जमिनधनीले काठमाडौंबाट लिएको ऋण नतिरेकाले बैकले लिलाम गरेपछिको अवस्था हो यो । 

बैंकको जमिनमा पोखरी खनाउँदै आएको परिवारका अगुवा वडाध्यक्ष हुसेन भन्छन् ‘बैंकको नाममा जमिन छ भन्ने थाहा भएन ।’ झुक्याएर पूरा रकम नतिरी जमिन पास गरिएकाले असुली गर्न माटो निकालिएको उनको भनाइ छ । 

धनपालथान– ६ र ७ नम्बर वडाको सीमानामा रहेको पिण्डेश्वरी मन्दिरबाट बोर्डिङ टोल जाने सडकमा ट्रिपरको टायरले बिगारेको ग्राभेल बाटो कोदालोले खनेर स्थानीय मोहम्मद हासिम मिलाउँंदै थिए । 

उनका अनुसार वडाध्यक्ष हुसेनका भाइ ताहिर हुसेनले ट्रिपरबाट माटो बोकाउँदा सडक बिग्रिएकाले आफूले घण्टौ लगाएर मिलाएका थिए । ब्यक्तिगत आम्दानीका लागि सडक बिगारेपनि नबनाएकाले आफूले घर अगाडिको सडक मर्मत गरेको उनको भनाइ छ । 

लोहन्द्रा खोलाको किनारमा वर्षौदेखि मापदण्ड बिपरीत माटो उत्खनन् गरेर पेशा चलाउँदै आएको आरोप लागेका वडाध्यक्ष हुसेनको परिवार बैंकको जमिनमा भनें केही अन्यायमै परेर जबरजस्ती माटो खन्नमा लागेको स्थानीयको भनाइ छ । 
हुसेनका अनुसार उनको सगोल परिवारको दुई बिघा जमिन काठमाडौंका प्रदिपकुमार गौतमले खरिद गरेका थिए । 

गौतमले बैंकको ऋण नतिरेपछि जमिन बैंकका नाममा गएको थियो । आफूहरूले पाउनुपर्ने रकम असुली गर्न माटो काटेर बिक्री गरेको हुसेनका भाइ ताहिरले बताए । उनीहरूले हुलाकी राजमार्गस्थित कटहरी खण्डमा काम गर्दै गरेका ठेकेदारलाई माटो बिक्री गरेका थिए । 

माटो कटानको काम बुधबार प्रहरी गएर बन्द गरेको छ । बैंकको नाममा रहेका वस्तीसँगै रहेका जमिनमा करिव ९ फिट गहिरो खाडल खनेर दुईवटा पोखरी बनाइएको छ । 

पोखरीको आसपासको माटो पनि २ फिट खनेर हटाइएको छ । हुसेन परिवारको चारवटा फोखरी खनेर दुई बिघाको माटो बिक्री गरी जमिनको मूल्य असुल्ने योजना थियो । 

दाजु कुनुश मियाँले बित्री गरेको जमिनको पूरा रकम नपाएको र सो जमिन बैंकको नाममा गएको पनि आफूले थाहा नपाएकाले उत्खनन् गरिएको वडाध्यक्ष हुसेन बताउँछन् । 

हुसेनका अनुसार उनको परिवारले गौतमबाट ९६ लाख रूपैयाँ पाउन बाँकी छ । आफ्नो सोझो दाजुलाई झुक्याएर कागज गराई दलालले फसाएको उनले बताए । रामचोकका रामकुमार साह र विराटनगरका देबेन्द्र ठकुरीले झुक्याएर दाजुलाई फसाएको उनले बताए । आफ्नो परिवारले पाउनुपर्ने रकमको चेक नसाटिएपछि बैंकलाई आग्रह गरेपनि सुनवाई नभएको हुसेनले बताए ।

View : 208

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved