एनपीएलमा कमजोर विराटनगर
विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विराटनगर किङ्स टिम काठमाडौं जानुअघि विराटनगरमा टिम व्यवस्थापनलाई पत्रकारहरुले सोधेका थिए ‘पहिलो खेल त टिमले खेल्छ नै, अन्तिम खेल पनि खेल्छ ?’ प्रश्नको अन्तर्यले भन्थ्यो, के विराटनगरले प्रतियोगिताको फाइनल पनि खेल्छ ?’
टिम व्यवस्थापनका दुई सदस्यहरु पूर्व क्रिकेटर पारस लुनिया र सुयस प्याकुरेलले यो प्रश्नको उत्तरमा भनेका थिए ‘हाम्रो लक्ष्य शिल्ड नै हो । टिमले अन्तिम खेल खेल्नेछ ।’ यतिमात्रै होइन, फ्रेञ्चाइजी टिम विराटनगरले प्रतियोगिता जिते ३० लाख रुपैयाँ दिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक घोषणा गरेका थिए ।
यसरी फाइनल पुग्ने विषयमा सुरुमा आत्मविश्वासी देखिएको विराटनगर किंग्स प्लेअफ दौडबाटै बाहिरिने संघारमा आइपुगेको छ । बिहीबार सम्पन्न आफ्नो पाँचौ खेलमा विराटनगर सुपर ओभरमा पोखरासँग स्तब्ध बन्न पुग्यो ।
पाँच वटा खेल खेल्दा एउटा मात्रै जीत हात पारेको विराटनगरले बाँकी चार वटा खेल हारेको छ । अहिलेसम्म जम्मा दुई अंक मात्रै जोडेको विराटनगर अंक तालिकाको पुछारमा छ । कूल ८ टिम सहभागी प्रतियोगितामा अहिलेसम्म आठौं स्थानमै रहेको विराटनगर प्लेअफमा पुग्न छटपटाइरहेका बेला जनकपुर बोल्ट्स भने एक खेल अघि नै प्लेअफमा पुगेको छ । विराटनगर जतुवाका बासिन्दासमेत रहेका राष्ट्रिय टिमका सदस्य ललित राजवंशी जनकपुरबाट खेलिरहेका छन् ।
यही समीकरणले विराटनगर प्लेअफ दौडबाट बाहिरिने सम्भावनाको एकदमै नजिक पुगेको हो । एनपीएलमा लिग चरणका खेल सकिँदा चौथो नम्बरसम्म पर्ने टोलीले मात्रै प्लेअफ खेल्न पाउने छन् ।
विराटनगरको यो सम्भावना लगभग समाप्त बन्दै गएको छ । अब विराटनगर किङ्सले प्लेअफमा पुग्न चमत्कारिक नतिजाको प्रतिक्षा गर्नुपर्नेछ । त्यो पनि आफ्नो मात्रै नतिजाले उसलाई अन्तिम चारमा पु¥याउने छैन । बाँकी अन्य टिमले पनि विराटनगरले चाहे जस्तै नतिजा निकाल्नु पर्नेछ । यो सम्भावनाबारे चर्चा गर्नुअघि बिहीबारको खेललाई एकपटक नियालौं ।
वेष्ट इन्डिजका अलराउण्डर रामोन रिफरले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सलाई रोक्यो । विराटनगर किङ्स र पोखरा एभेन्जर्सले बिहीबारको खेलमा स्पष्ट नतिजा निकाल्न सकेनन् र खेल ‘टाइ’ मा पुगेपछि सुपर ओभरमा नतिजा निस्केको थियो ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । जवाफमा आएको पोखराले ६ विकेट गुमाई १ सय ३९ रन नै बनायो ।
पोखराले सुपर ओभरमा बिना विकेट क्षति १८ रन बनाएको थियो भने विराटनगरले कुनै विकेट नगुमाए पनि ५ रनमात्र बनाउन सक्यो । रिफरले उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई बाउन्ड्रीका लागि कुनै अवसर नै दिएनन् । यसरी जित हात लागिसकेको खेल जसै विराटनगरले सुपरओभरमा गुमायो, उसको प्लेअफ पुग्ने सम्भावना पनि लगभग सकियो ।
अब एनपिएलमा आफ्नो सम्भावना कायमै राख्दै प्लेअफमा पुग्न विराटनगरलाई केही चमत्कारिक नतिजाको आवश्यकता पर्नेछ । सबैभन्दा पहिले त विराटनगरले अब खेल्न बाँकी दुईमध्ये दुई वटै खेल फराकिलो अन्तरले जित्नुपर्नेछ । अब चितवन राइनोज र काठमाडौं गुर्खाजसँगको खेल विराटनगरले ठूलो अन्तरले जित्नुपर्नेछ ताकि अरु टिमसँग अंक बराबरी भए पनि नेट रनरेटका आधारमा अरुलाई उछिन्नु पर्नेछ ।
आफूले जितेर मात्रै विराटनगर प्लेअफमा पुग्नसक्ने छैन । त्यसका लागि अरुको नतिजा पनि कुर्नु पर्नेछ । त्यसका लागि चितवन र कर्णाली याक्सले अब खेल्न बाँकी दुई वटै खेल हार्नु पर्नेछ । यी दुई टिमले दुईवटै खेल हारेर मात्रै पनि पुग्ने छैन । काठमाडौंले एउटा जित र एउटा हार व्यहोर्नु पर्नेछ भने पोखराले पनि एउटा खेल जितेर अर्को खेल हार्नु पर्नेछ । यी सबै शर्त पूरा भएको अवस्थामा मात्रै विराटनगर किंग्सले प्लेअफ खेल्न पाउनेछ ।
अनिश्चितताको खेल मानिने क्रिकेटमा असम्भव भन्ने केही हुन्न । तर, सबै सम्भावना आफूले चाहे जसरी नै आउँछ भन्ने निश्चित पनि हुँदैन । त्यसैले विराटनगरको सम्भावना अब अत्यन्त न्यून बनेको हो ।
नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा मार्टिन गप्टिल, निकोलस क्रिटन, अकिब इल्यास, क्रिस सोल सुरुदेखि नै थिए भने भर्खरै नेदरल्याण्डस्का कप्तान इडवार्डस जस्ता विदेशी खेलाडी भएको टिममा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद जस्ता चर्चित क्रिकेटर पनि छन् । तर, टिमले भने मैदानमा अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन ।
आफ्नो पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित बनेको विराटनगर दोस्रो खेलमा सुदुरपश्चिमसँग ९० रनले हारेको थियो । तेस्रो खेलमा भने लुम्बिनीलाई २ विकेटले हराउँदै पहिलो जीत रचेको विराटनगरले त्यसयता फेरि जित्न बिर्सेको छ । त्यसपछि कर्णालीसँग ७ रनले र पोखरासँग बिहीबार सुपर ओभरमा विराटनगर पराजित बन्यो ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिन्थ्यो । ओभरको दोस्रो बलमा नारायण जोशीले १ रन लिएपछि स्ट्राइकमा आएका रिफरले तेस्रो बलमा छक्का प्रहार गरे ।
त्यसपछिको दुई बलमा कुनै बलमा रन बनाउन नसकेका उनले खेलको अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । उनै रिफरले सुपर ओभरमा पोखराले बिना क्षति जोडेको १८ मध्येको १७ रन बनाएका थिए ।
उनले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको पहिलो दुई बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेका थिए । उनको यो धुँवादार पारी नै अन्ततः विराटनगरको आगामी सम्भावना कमजोर पार्ने महत्वपूर्ण घुम्ती बन्यो ।
View : 70
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved