विराटनगर । विराटनगर– १० स्थित कान्तिपुर सेकेन्डरी स्कुलले सोमबार आठौं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ ।
विराटनगरको शैक्षिक क्षेत्रमा नाम कमाएको कान्तिपुर स्कुलले वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूको सहभागितामा विविध कार्यक्रम आयोजना गरेको हो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले बालबालिकाको पहिलो शिक्षा परिवारबाटै सुरु हुने बताए ।
उनले अभिभावक र विद्यालय मिलेर मात्रै विद्यार्थीको शैक्षिक भविष्य निर्माण हुने धारणा राखे । गौतमले निजी विद्यालयले नेपाली भाषा अध्ययन अध्यापनको वातावरण बनाउनुपर्ने र आफ्नो भाषामा विद्यार्थीहरूलाई पोख्त बनाउने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।
विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले विद्यालयहरूले आफ्नो शैक्षिक गुणस्तर कायम गर्दै जानुपर्नेमा जोड दिए । सरकारको तर्फबाट आवश्यक समन्वय र अनुगमन पनि गर्दै जाने बताए । महानगरभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबै विद्यालयले भूमिका महत्वपूर्ण भएको बताए ।
कान्तिपुर स्कुलका प्रिन्सिपल भुवन नेपालले २०७२ सालबाट स्कुलले विराटनगरको शैक्षिक क्षेत्रमा फड्को मारेको बताए । उनले फाउन्डेसन स्थापना गरेर विद्यालय सञ्चालन गरेको वर्ष नै कक्षा ११ मा ६५६ जना विद्यार्थी भर्ना भएको इतिहास रहेको बताए ।
उनले हाल पनि कक्षा ११ मा एक हजार ६४ र कक्षा १२ मा ८५२ जना विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
कान्तिपुर एजुकेसन फाउन्डेसनका अध्यक्ष सुशील श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष प्रेम सुवाल, हिसान मोरङका अध्यक्ष अमित ढकाल लगायतले शुभकामना दिएका थिए ।
उक्त अवसरमा विद्यालयका नर्सरीदेखिका विद्यार्थीहरूले कक्षागत रुपमा तयार पारेका गीत, नृत्य लगायतका अनेकाैं प्रतिभा र रचनात्मक कार्यहरू प्रस्तुत गरेका थिए ।
View : 538
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved