विराटनगर । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले पढ्न विदेश जानेहरु लगायत विभिन्न शीर्षकबाट वार्षिक ८ खर्ब रकम बाहिरिने गरेको दावी गरेका छन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालले स्त्री तथा प्रसूति सेवाका लागि छुट्टै भवनमार्फत नयाँ पाँचवटा अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटनको अवसरमा बोल्दै प्राडा वाग्लेले नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शिक्षाको नाममा गत आर्थिक वर्ष २०८१–८२ मा एक खर्ब ३८ अर्ब रकम र अन्य सम्पत्ती बाहिरिएको बताए । विदेश जानेले आफ्नो घरजग्गा बिक्री गरेर, साथै अन्य सम्पत्ती पनि लैजाने हुँदा आठ खर्ब बढी रकम नेपाली विदेश गएसँगै बाहिरिने गरेको उनले दावी गरेका हुन् ।
सरकारले मेडिकल लगायतका क्षेत्रको सुधारको लागि सबै क्षेत्रका विज्ञहरु राखी उनीहरुको राय अनुसार नीति निर्माण गर्नुपर्ने बताए ।
प्राडा वाग्लेले अब नेपालमा अंग्रेजी भाषाको माध्यमबाट शिक्षा दिनसकेमा विदेशी विद्यार्थी आउन सक्ने र सोबाट विदेशिने रकमलाई सट्टाभर्ना हुने बताए । उनले भने, अहिले काठमाडौं विश्वविद्यालयमा चिनियाँ विद्यार्थी मात्र राखेर एमबीएको छुट्टै कक्षा सुरु गरेका छौं, त्यस्तै मेडिकल लगायतको शिक्षा सरल अंग्रेजी भाषामा पढाएर आय बढाउन सकिन्छ ।’ उनले अगाडि भने, ‘नेपालबाट गएका चिकित्सकहरु अमेरिकालगायत देशमा राम्ररी काम गरिरहका छन्, कुनै गुनासो आएको छैन भने हाम्रो पढाइ गुणस्तरीय छ, विराट मेडिकल कलेजमा
एमबीबीएस र एमडी पढाइ हुने भएकोले यहाँ पनि विदेशी विद्यार्थी पढ्न पूर्वाधार बनेकोले विदेशी विद्यार्थीका लागि सम्भावना बोकेको छ ।’
काठमाडौं विश्वविद्यालयका चिकित्सा शास्त्र संकायका डीन प्राडा मनोज हुमागाईंले समयानुकूल पाठ्यक्रम पनि परिवर्तन गर्दै आएकोले काठमाडौं विश्वविद्यालय विदेशी विद्यार्थीका लागि शैक्षिक थलो बन्नेमा विश्वस्त भएको बताए ।
उनले मेडिकल शिक्षालाई उचाइमा लैजानका लागि विराट मेडिकल कलेजको भूमिका पनि महत्वपूर्ण रहेको बताए ।
अस्पतालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले चिकित्सा पढाइका लगि विराट शिक्षण अस्पतालले सरोकार सबैसँग समन्वय गरेर जाने र अस्पतालको स्तरोन्नतीका लागि आवश्यकता अनुसार सुधार गर्दै जाने बताए ।
डा. कार्कीले कसैको हठमा चिकित्सा शिक्षाको विस्तारमा समस्या आइरहको बताउँदै यसले मेडिकलका विद्यार्थीलाई विदेश जान प्रोत्साहन गरी देशको मेडिकल शिक्षा धरासायी हुन सक्ने बताए । यसका लागि बेलैमा सोच्नुपर्ने उनको राय छ ।
सो अवसरमा कलेजका प्राचार्य डा सन्तोष उपाध्याय काफ्लेले विराट शिक्षण अस्पतालको मेडिकल शिक्षालाई उचाइमा पुर्याउन नयाँ भवन, नयाँ कक्षा कोठा, पढाइका लागि अत्याधुनिक प्रविधि भित्र्याइएको र अब्बल शिक्षाका लागि प्रयोगमा ल्याएको बताए ।
कार्यक्रममा कलेजमा नयाँ नियुक्त भएका सहायक प्रमुख डा. मनोज भट्टराई र डा. किशोर गुरुङलाई नियुक्तिपत्र दिइएको थियो ।
View : 408
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved