विराटनगर । सम्पत्ती हत्याउने उद्देश्यले आफन्तले मार्न प्रयास गर्दा बाँचेका आमाछोराको मुद्दामा सरकारी वकिलको कार्यालय पुनरावेदमा नजाँदा पीडित थप पीडाको अवस्थामा पुगेका छन् । लुकेर बसेको त्यो परिवार पुनः भारततर्फ भाग्नुपर्ने अवस्थामा पुगेको छ ।
मोरङ जहदा गाउँपालिका–६ पोखरियाका ४२ वर्षीय धु्रवलाल सरदार र उनको ससुरालीका सदस्यले कुटपिट गरेकाले ६९ वर्षीया आमा मालोहदेवी गनगाई र दाजु मोतिलाल सरदार झण्डै दुई वर्षदेखि घर छाडेर आफन्तको शरणमा बस्दै छन् ।
जिल्ला अदालतले आरोपीहरूलाई ठुलो रकम धरौटीमा छाडेपछि पनि आरोपीकै पक्षमा फैसला भएकाले सरकारी वकिल उच्च अदालतमा नगएको हो ।
ज्यान मार्ने उद्योग र डाका मुद्दामा आरोप भोगेका धु्रवलाल सरदार, मुलचन्द खाँ, दिपु खाँ, कुन्दन खाँ, मिना खाँ, पुजादेवी सरदार, दिपाकुमारी, रविन्द्रकुमार सिंह र चमेली खाँ जनही ७५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । उनीहरूलाई कारागारमै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेको सरकारी वकिलको कार्यालयले अदालतको फैसलापछि भने पीडकलाई नै सजिलो हुनेगरी भूमिका खेलेको पीडित परिवारले बताएका छन् ।
२०८० भदौ २६ मा दर्ता भई २०८१ असार २५ मा फैसला भएको मुद्दामा सरकारी वकिलको कार्यालय पुनरावेदनका लागि नगएको र मुद्दा फैसला बारे आफूहरूलाई जानकारी नै नभएकाले उच्च अदालत जाने अवधि गुज्रिएको पीडितका छोरा मोतिलाल बताउँछन् ।
जिल्ला न्यायाधीस जुद्धबहादुर आलेको इजलासले प्रतिवादीहरू उपरको अभियोग दाबी पुग्न नसक्ने भएकाले उनीहरूले सफाई पाएको फैसला गरेको थियो ।
सरकारवादी मुद्दामा जिल्ला अदालतको फैसलामा सन्तुष्ट नहुँदा पीडितको अधिकारका लागि सरकारी वकिलको कार्यालय उच्च अदालतमा जाने गरेको छ । तर यो मुद्दामा पुनरावेदनका लागि नजाने प्रस्ताव गर्दै वकिल कार्यालयले उच्च अदालत सरकारी वकिल कार्यालयलाई पत्राचार गरेको थियो । सो पत्रसहितको मिसिल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ ।
अदालतले जनही ७५ हजार रुपैयाँ धरौटी माग गरेर छुटेका ८ जनाविरुद्धको मुद्दा उच्चमा नलैजाने जिल्ला वकिलको कार्यालयले गत माघ २ मा सिफारिस गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले पीडितको सरकारवादी र व्यक्तिवादी दुबै मुद्दा भएकाले उच्चमा मुद्दा नलैजान सिफारिस भएको बताए । गत पुस १८ मा पुनरावेदनका लागि जिल्ला वकिल कार्यालयमा सुचना आएको थियो ।
घाइतेलाई घरबाट उद्धार गरेर अस्पतालमा उपचार गराएको प्रहरीले वकिल कार्यालयमा दिएको अनुसन्धान प्रतिवेदनकै आधारमा अदालतबाट आरोपीलाई धरौटी माग भएको थियो ।
सरकारवादी मुद्दामा आफूहरूलाई जानकारी नै नदिई वकिल कार्यालयले मुद्दा अगाडि नबढाउने सिफारिस गरेकाले आफूहरू थप पीडित भएको पीडित पक्षको भनाइ छ ।
वकिल कार्यालयको निर्णयले आफूहरू असुरक्षित भएर पहिले जस्तै पुनः भारतमा लुक्न जानुपर्ने अवस्था आएको उनीहरूले बताए ।
महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सुचना अधिकारी पुष्पराज बास्तोला जिल्ला अदालतको फैसला भएको अवस्थामा सरकारी वकिलको कार्यालयलाई यस्तो सिफारिस गर्ने अधिकार रहेको बताउँछन् ।
‘उनीहरू पैसावाला हुन्, मलाई घरबाट लखेटेपछि खेती गर्न पनि पाएको छैन । पैसावालाले हामी आमाछोरालाई मार्न खोजेको थियो त्यही भएर सरकारी वकिल पनि डराएको होला’ मालोहदेवीले भनिन् ।
मोतिलालका अनुसार आमा मालोहदेवी र उनलाई घरबाट लखेटेर सम्पत्ती एकलौटी बनाउने सोचमा उनकै भाई धु्रवलाल र उनको ससुरालीको परिवार आएको थियो ।
‘लाठी बोकेको समूह घरभित्र छिरेपछि चुकुल लगाएर लुकेँ, ढोका फुटाएरै आमा र मलाई कुटेरै बेहोस बनाए’ भोतिलालले भने । भोलिपल्ट अस्पतालमा आङ्खनो होस् खुलेको मोतिलालको भनाइ छ ।
‘आमाको शरीरको लुगा च्यातेर कुट्दै लखेटेछन्, गाउँलेले साडी ओढाएर लुकाएका रहेछन्’ उनले भने । भाइ धु्रवले ससुराली र भाउजूका माइती प्रयोग गरेर २०८० गत साउन ११ गते बेलुका मरणासन्न हुने गरी कुटपिट गरेको मोतिलालले बताए ।
कुटपिटबाट आमाको कुमको हड्डी फुटेको र आङ्खनो टाउकाको चोटले देब्रे आँखा नदेख्ने भएको मोतिलालले बताए । काठमाडौंमा व्यवसाय गरेर बसेका मोतिलाल आमा एक्लै बसेको घरमा आएकै दिन आक्रमण भएको थियो ।
मोतिलालका बाबुको निधन भएपछि नजिकै रहेको ससुरालीमा बसेर भाइ धु्रवलालले बाबुआमाको सम्पत्ती आफ्नो बनाउने योजना बनाएर आमाछोरा दुबैलाई घरबाट लखेट्न आक्रमण गराएको उनको भनाइ छ ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved