विराटनगर । प्रिमियर लिग (एनपीएल) को एउटा टोली विराटनगर किङ्ग्सले टिमको आधिकारिक जर्सी मंगलबार साँझ सार्वजनिक गरेको छ ।
विराटनगर किंगसका मार्की खेलाडी सन्दीप लामिछानेले टिमको जर्सी सार्वजनिक गरेका हुन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्की, टिम प्रवद्र्धक पारस लुनिया लगायतको उपस्थितिमा लामिछानेले जर्सी सार्वजनिक गरेका हुन् ।
मंगलबार साँझ विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रममा टिमले आफ्नो टिम एन्थम (गान) पनि सार्वजनिक गरेको छ । टिम गान गायक कुशल पोखरेलले आफनै स्वर, लेखन र संगीतमा तयार पारेका हुन् । एन्थम हिपहप शैलीमा गाइएको छ ।
विराटनगर किङ्ग्स एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टिम हो । टिम प्रमुख प्रवर्धक पारस लुनिया नेपाली राष्ट्रिय टोलीबाट ६ वर्ष खेलेका खेलाडीसमेत हुन् ।
मंसिर १५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने एनपीएलको पहिलो खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।
विराटनगर किंग्समा सन्दिप लामिछाने मार्की खेलाडी हुन् । त्यस्तै टिममा प्रतिश जीसी, बसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दीपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ छन् ।
टोलीमा पाँचजना विदेशी खेलाडीहरु मध्ये न्यूजिल्याण्डका विष्फोटक ब्याट्सम्यान मार्टिन गुप्टिल, ओमानका कप्तान अकिब इलियाससहित निकोलस क्रिटोन, क्रिस सोल र इस्मत आलमले विराटनगर किंग्सबाट खेल्दैछन् ।
यसैबीच मुख्यमन्त्री कार्कीले सरकारलाई खेलकुदमा केन्द्रीत हुन प्रेरित गरेको बताए । उनले ‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ प्रदेशको टिम मैदान उत्रिनु प्रदेशका लागि निकै खुसीको कुरा रहेको बताए ।
जर्सी सार्वजनिक गर्दै मार्की प्लेयर सन्दीप लामिछानेले टोली र खेलाडीको तर्फबाट टिमलाई निरन्तर जीतसहित अघि बढाउने बताए । उनले एनपिएलको ट्रफी कोशी प्रदेशमा लिएर आउने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।
विराटनगर किङ्ग्सले टिम फेस (अनुहार) का रुपमा गायिका रचना रिमाललाई प्रस्तुत गरेको छ । गायिका रिमालले आफ्नो गायन पहिलो रोजाइ भएको बताउँदै गायनपछि आफ्नो रोजाइ खेलकुद नै भएको सुनाइन् । ‘खेलकुदमा पनि क्रिकेटलाई म ज्यादै फलो गरिरहेको हुन्छु । विराटनगरसँग जोडिन पाउँदा खुसी छु’ उनले भनिन् ।
कार्यक्रमका कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रदेश सांसद भीम पराजुली, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा अन्डर–१९ राष्ट्रिय महिला टोलीलाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेका मुख्य प्रशिक्षक विराटनगर निवासी महेश प्रसाद रिजाललाई कदर पत्र प्रदान गरिएको थियो ।
View : 89
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved