विराट मेडिकल कलेज शिक्षण अस्पताल १० औं बर्षमा
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पताल मंगलबारदेखि स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ ।
१० औं वर्ष प्रवेशको अवसरमा मेडिकल कलेजले क्यान्सर रोग लागेका बिरामीहरूलाई हौसला प्रदान गर्न, क्यान्सर निको भएको अवस्थाको खुसियाली साट्न र क्यान्सर थप नफैलिएको सन्देश प्रवाह गर्ने विजयसूचक घण्टी ‘बेल अफ सेलिब्रेसन’ को उद्घाटन गरिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा स्थापित रेवन्त–रुकमिणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको सुविधा सम्पन्न अस्पताल भवनमा अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की र उपाध्यक्ष डा. इलिना कार्कीले संयुक्त रुपमा बेल अफ सेलिब्रेसनको उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष डा कार्कीले सवैको विश्वासले क्यान्सर रोगका सवै अवस्थाको उपचार गर्ने स्थितिमा उपचार सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले क्यान्सर रोगलाई मात्रै जीवनको दुःखका रुपमा बुझ्न नहुने बताए । क्यान्सर रोगका हरेक बिरामीले ‘मैले लड्नु छ’ भन्ने भावना बोक्नुपर्ने बताए ।
अध्यक्ष डा कार्कीले निजी स्वास्थ्य संस्थालाई राज्यले अर्कै दृष्टिकोणले हेर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे । राज्यले दिन नसकेको सेवा प्रदान गरिरहेका निजी स्वास्थ्य संस्थालाई समेत राज्यले सहयोग गर्नुपर्ने बताए ।
विराट मेडिकल कलेजले गत बर्ष माघ महिना २१ मा रेवन्त–रुकमिणी क्यान्सर इन्स्टिच्यूट स्थापना गरी क्यान्सर रोगको उपचार सुरु गरेको थियो ।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले क्यान्सर रोगको उपचार सेवा सुरु गरेको एक बर्षमा बहिरङ (ओपीडी) सेवाबाट २० हजार बढी विरामीलाई सेवा, १३०० विरामीले २० हजार पटक रेडिएशन थेरापी, दुई हजार बढिको क्यान्सर सर्जरी, १२ हजार बढी पटक केमोथेरापी र १५० वटा शिविरमार्फत १२ हजार बढीको क्यान्सर जाँच गरिएको जानकारी दिए ।
सोही अवसरमा क्यान्सर इन्स्टिच्युटका प्रमुख डा निकिता कार्कीले प्रत्येक क्यान्सर रोगीहरूलाई सम्मानित जीवन बाँच्ने अवसरको सिर्जना गर्नुपर्ने बताए । उनले क्यान्सर रोगलाई पुर्वजन्मको पाप सम्झिएर लुकाएर राख्न नहुने भन्दै छिटो उपचार सेवा सुरु गरे निको हुने बताए ।
क्यान्सर रोग मुक्त बनेका व्यक्तिहरू सम्मिलित इष्टर्न क्यान्सर सर्भाइभर ग्रुपका सदस्य एवं सञ्चारकर्मी कमल पौडेलले क्यान्सरलाई भयावह मान्न नहुने बताए । उनले रोग लागेका व्यक्तिलाई त्रासबाट बचाएर आत्मबल प्रदान सकिए क्यान्सरबाट मुक्ति हुन सकिने उदाहरण प्रस्तुत गरे ।
उक्त अवसरमा क्यान्सर इन्स्टिच्युटकी अन्कोलोजी नर्सिङ इञ्चार्ज रोजिना तिम्सिनाले पनि क्यान्सर संक्रमित बिरामीलाई हौसलाको खाँचो रहेको बताइन् । उनले विराट मेडिकल कलेजमा क्यान्सर रोगको उपचारका लागि उपकरण र सेवा उत्कृष्ट रहेको बताइन् ।
View : 388
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved