शव पहिचानको चुनौती :
विराटनगर । मोरङ प्रहरीले रसुवा र नुवाकोट लगायतका जिल्लामा भोटेकोशी बाढीले ज्यान गुमाएका तर अहिलेसम्म शव भेटिएर पनि पहिचान हुन नसकेको व्यक्तिका परिवारलाई डीएनए परीक्षणका लागि रगत उपलब्ध गराउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले मोरङ जिल्ला ठेगाना भएका व्यक्तिहरू भोटेकोशी बाढीपछि हराइरहेको र फेला परेका तथा मानव अंगको पहिचान गर्न कठिन भएको भन्दै त्यसका लागि आफन्तजनलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह गरेको हो ।
फेला परेका शव तथा शरीरका अंगसँग डीएनए परीक्षण गर्न आफन्तको रगतको नमुना आवश्यक पर्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भोटेकोशी बाढीपछि हराइरहेका व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये नजिकका एक जना आफन्तको रगतको नमुना संकलन गर्नुपर्ने छ । ती नाताका व्यक्ति उपलब्ध नभएको अवस्थामा दाजु, भाइ, दिदी वा बहिनीमध्ये एक जनाको नमुना संकलन गर्न सकिने प्रहरीको सूचनामा उल्लेख छ ।
विदेशमा रहेका आफन्तको हकमा भने बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी तुलनाका लागि डीएनए प्रोफाइलको ‘सफ्टकपी’ नेपाल प्रहरीलाई इमेलमा पठाउन आग्रह गरिएको छ ।
डीएनए परीक्षणका लागि नाता प्रमाणित कागजात, दुई प्रति पासपोर्ट साइजको फोटो र परिचय खुल्ने कागजात (राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रतिलिपि) आवश्यक पर्ने प्रहरीले जनाएको छ । नमुना संकलन तथा आवश्यक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्पर्क गर्न सकिने जनाइएको छ ।
कोशी प्रदेशका १४ मध्ये मोरङ ठेगाना भएका १६ जना व्यक्तिहरू भोटेकोशी बाढीका क्रममा वेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कोशी प्रदेशमा सवैभन्दा धेरै सोलुखुम्बुका ४१ जना बढी नागरिक भोटेकोशी बाढीका क्रममा सम्पर्कविहीन छन् ।
View : 76
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved