विराटनगर । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा मकालु प्लाटिनम जुब्ली तथा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ ।
संखुवासभाको मकालु गाउँपालिकाको आयोजना तथा मकालु साहित्यिक समाजको संयोजनमा हुने महोत्सवमामा नेपालसहित भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी हुने आयोजकले जनाएका छन ।
यही फागुन १४, १५, १६ र १७ गते मकालु गाउँपालिकाको नुम बजारमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमको संयोजन गरिरहेको मकालु साहित्यिक समाजका अध्यक्ष अग्रज साहित्यकार ताराबहादुर बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमले मकालु गाउँपालिकालाई मात्रै नभएर सिंगो संखुवासभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बुढाथोकीले बताए ।
उनले दक्षिण एशियाली साहित्यिक सांस्कृतिक महोत्सवले मकालु, शिवधारा र वणुगोत्री त्रिआयामिक धाार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
स्थानीय संस्कृति र दक्षिण एसियाली संस्कृति सम्मिलन भई साहित्यिक र सांस्कृतिक विचार आदानप्रदानले सम्बन्धसमेत सुमधुर हुने उनको भनाइ थियो ।
कार्यक्रमलाई भव्य बनाउन गाउँपालिकाकी उपाध्यक्ष मनकला राईको संयोजकत्वमा आयोजक समिति समेत बनाइएको छ ।
महोत्सवमा भलिबल प्रतियोगिता, नाटक मञ्चन, विभिन्न लोकदोहोरी, झाँकी प्रदर्शन, स्थानीय उत्पादनको कक्ष, साहित्यिक–सांस्कृतिक कार्यक्रम, विभिन्न पुस्तक विमोचनलगायतका कार्यक्रम रहेको संयोजक राईले जानकारी दिइन् ।
सोही कार्यक्रममा साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान पुर्याएको भन्दै विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित साहित्य, कला, संस्कृति, पर्यटन, गीतसंगीतलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिने आयोजकले जनाएको छ ।
View : 76
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved