विराटनगर : नेकपा एमालेले बैतडीको झुलाघाटबाट सुरु गरेको पुष्पलाल मध्यपहाडी मार्ग केन्द्रित समृद्धिका लागि संकल्प याक्राका त्रममा कोशी प्रदेशमा ५ हजार बढी सुरक्षाकर्मी तैनाथ हुने भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै सुरक्षा निकायले एमाले र पहिचानवादीबीचको सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजनामार्फत ती प्रहरी जनशक्ति परिचालन गर्न लागेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले एमालेको संकल्प यात्राको सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएका छन् । ती दुबै निकायले संकल्प याक्राका त्रममा सुरक्षामा कुनै समस्या नभएको दाबी समेत गरेका छन् ।
एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारी छ । जसका कारण मुठभेडको सम्भावना बढेको भन्दै सुरक्षा निकायले उच्च सतर्कताका लागि एकीकृत सुरक्षा योजना लागु गरेको छ । यसका लागि कोशी प्रदेश बाहिरबाट थप प्रहरी जनशक्ति मद्दतका लागि ल्याइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार एमालेले सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेशमा निर्बाध रुपमा सञ्चालनको वातावरण बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसहतिको एकीकृत सुरक्षा योजना बनाइएको छ ।
उनले कार्यक्रम अवधिभर सहभागीको सुरक्षाका लागि नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटाको नेतृत्वमा रहेको अपरेसन कमाण्डमार्फत २ हजार ७ सय बढी प्रहरी परिचानल हुने बताए ।
त्यसैगरी थप जनशक्ति मद्दतका लागि मधेस प्रदेशबाट १ सय र बागमती प्रदेशबाट १ सय गरी कुल २ सय प्रहरी जनशक्ति सोमबार बेलुकीसम्म उदयपुरको घुर्मीमा पुग्ने प्रहरी प्रवक्ता कँडेलले बताए ।
सुरक्षा निकायका अनुसार एमालेको संकल्प याक्रा बिथोल्न आह्वान गरेको बन्द कार्यत्रममा पहिचान पक्षधरका करिब १ हजारदेखि १ हजार ५ सय कार्यकर्ता सम्भावित उदयपुरको घुर्मीमा उतार्ने अनुमान छ । सोहीअनुसार आवश्यक सुरक्षा तयारी दुबै सुरक्षा निकायले गरेका छन् ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिले एमालेको संकल्प यात्रा प्रभावित गर्ने गरी मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आव्हान गरेको छ ।
‘लोकतन्त्र, गणतन्त्र, संविधानले दिएको प्रदत्त अधिकारलाई कसैले थुनछेक गर्न सक्ने अवस्था छैन । कसैले आउँछु भन्लान्, कोही जान्न भन्लान् । कसैले अउनै दिन्न भन्लान् । तर, हाम्रो सरोकार सुरक्षाको हो । सुरक्षा व्यवस्था हामीले मिलाएका छौं,’ कँडेलले भने, ‘कुरा के हो भने कसैले कसैलाई पनि निषेध गर्न मिल्दैन ।
कसैले कसैलाई पनि हस्तक्षेप गर्न नमिल्ने भएकोले स्वतन्त्रतापूर्वक आफ्नो कार्यक्रम गर्न पाउँछन् ।’ उनले एउटै ठाउँमा कार्यक्रम गर्ने कुरामा भने पहिलो जसले कार्यक्रमको तय गरेको हो उसैलाई छाडिदिने नेपाली संस्कृति भएका कारण सोहीअनुसार हुनसक्ने बताए । ‘नेपालीको संस्कृति परम्परा पनि मिलेर गर्ने नै हो,’ उनले भने ।
सशस्त्र प्रहरी बल बराह बाहिनीका डीआईजी अञ्जनीकुमार पोखरेलले एमालेको संकल्प याक्राको कार्यत्रम अवधिको सुरक्षाका लागि २ हजार ४ सय बढी सशस्त्र प्रहरी परिचालन हुने बताए ।
उनले भने, ‘हामीले सूक्ष्म रूपमा अध्ययन गरेका छौं । आवश्यकताअनुसार हामी फोर्स परिचालन गर्छौ । अहिलेसम्म त्यस्तो समस्या देखिएको छैन ।’ उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाका लागि सबै काम गरेको बताए । यसबाहेक सूचना संकलनका लागि नेपाल अनुसन्धान विभागको जनशक्ति समेत परिचालित रहने छ ।
‘उदयपुरको घुर्मीमा मंगलबार आइपुग्ने एमालेको संकल्प यात्राका सहभागी, कार्यक्रम स्थललगायतको सम्पूर्ण सुरक्षाका लागि यथेष्ट मात्रामा सुरक्षा फोर्स परिचालन गरिएको छ’ पोखरेलले भने, ‘एकीकृत सुरक्षा योजनाअनुसार त्यहाँ सुरक्षा व्यवस्था लागू हुन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी फोर्स तैनाथ छ । हाम्रो काम पूर्णरुपमा शान्ति र सुरक्षायुक्त बनाउन व्यापक प्रयास हुनेछ ।’
एमाले र पहिचानपक्षधरले भने संयमता अपनाउने भन्दा पनि एक अर्का लक्षित आक्रामक अभिव्यक्ति दिदै आएका छन् ।
कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरूले एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यहरूलाई पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिदै आएका छन् ।
एमालेको मेची–महाकाली मध्यपहाडी याक्राको त्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरू सहभागी भए अवरोध गर्ने उनीहरूको धम्की छ ।
बन्द आह्वान गरेको पहिचानवादी पक्षधरका नेता गोपाल किराँतीले मंगलबारबाट ओखलढुगांको हिलेपानीदेखि पाँचथरको पाँचथरको चिवाभञ्ज्याङसम्मका १८ स्थानमा खबरदारी कार्यक्रम रहेको बताए । उनले मंगलबार उदयपुरको घुर्मीदेखि लेगुवासम्म बन्दको आह्वान गरिएकाले बन्दको अवज्ञा कसैले गरेमा त्यसको सशक्त प्रतिकार हुने बताए ।
‘कोशी प्रदेशको पुनः नामकरण संघर्ष समितिले मंसिर २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरिएको छ,’ किराँतीले भने, ‘८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौं । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौं ।’
एमालेले भने झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध गर्ने कुचेष्टा नगर्न चेतावनी दिएको छ । एमालेका केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले संकल्प यात्रा पहिचानवादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न आग्रह गरे ।
उनले संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेशमा प्रवेश गर्ने अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्दै संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर मात्र विश्राम लिने बताए ।
मंसिर २६ गतेदेखि पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको छ । यसबाहेक कोशी प्रदेशको उदयपुरको घुर्मी, तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिममा सभा आयोजना हुने एमालेले जनाएको छ ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved