विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका वरिष्ठ प्राध्यापक डा. अजय भट्टराई विश्वका शीर्ष २ प्रतिशत उत्कृष्ट वैज्ञानिकहरूको सूचीमा पर्न सफल भएका छन्।
अमेरिकाको प्रतिष्ठित स्टानफोर्ड विश्वविद्यालय र एल्सभियरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उनी सन् २०२३ देखि २०२६ सम्मको अवधिमा लगातार उक्त सूचीमा सूचीकृत भएका हुन्।
महेन्द्र मोरङ क्याम्पसको रसायनशास्त्र विभागका पूर्वअध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वसदस्यसमेत रहेका प्राडा भट्टराई क्याम्पसमा रहेका दुई वरिष्ठ प्राध्यापकहरूमध्ये एक हुन्।
उनको नेतृत्व र मातहतमा महेन्द्र मोरङ क्याम्पसबाट डा. रोहित देवले पोस्ट डक्टरेट अध्ययन अनुसन्धान पूरा गर्न सफल भएका छन्।
डा. देव महेन्द्र मोरङ क्याम्पसबाट डक्टरेट (विद्यावारिधि) हासिल गर्ने पहिलो अध्येता हुन्, जसले फोहोरजन्य विद्युतीय सामग्री (ई-वेस्ट) बाट लिथियम, निकल र प्लाटिनम जस्ता दुर्लभ धातुहरू निकाल्ने अनुसन्धानमा सफलता प्राप्त गरेका थिए।
रसायनशास्त्र विषयका अध्येता प्रा.डा. भट्टराईलाई अकार्बनिक तथा नाभिकीय रसायनशास्त्र (इनओर्गानिक एण्ड न्युक्लियर केमिस्ट्री) उपक्षेत्रमा विश्वभरमै १६८ औँ स्थान प्राप्त भएको छ।
समग्र रसायनशास्त्रको विश्वव्यापी वरीयतामा उनी ५८ हजार ४ औँ स्थानमा रहेका छन्।
शोधपत्रको प्रभावकारिता मापन गर्ने सूचकांकअनुसार उनको एच-सूचाकाङ्क १७ र एचएम--सूचाकाङ्क ८ रहेको छ।
वैज्ञानिकहरूले पुर्याएको योगदान, शोधपत्रको उद्धरण (साइटेशन) र अनुसन्धानको गुणस्तरका आधारमा तयार पारिने यस प्रतिष्ठित सूचीमा निरन्तर स्थान बनाउँदै उनले महेन्द्र मोरङ क्याम्पस, त्रिभुवन विश्वविद्यालय र सिङ्गो देशको नाम अन्तर्राष्ट्रिय जगतमा उच्च राखेका छन्।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved