विराट गोल्डकप
विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।
चर्च ब्वाइजको जितसँगै अब फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।
चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा सब्स्टिच्युट आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलमा एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै पहिलोे हाफमा १–० गोलले पछि पर्यो । पहिलो हाफमा एक गोलले पछि परेपछि दोस्रो हाफमा एनआरटी आक्रामक भएर मैदान प्रवेश गर्यो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए ।
चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । एनआरटीले पाएको गोल गर्ने सुन्दर अवसर गोलमा परिणत गर्न नसक्दा बराबारीमा ल्याउने अवर पनि खेर गयो ।
एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो । खेलको १४ औं मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजीव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए ।
२४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औं मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो ।
४० औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमी डिबक्स भित्रबाट गरेको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो ।
एनआरटी फिनिसिङमा चुकेको थियो । यही कारणले टोली पहिलो खेलबाट बाहिरन बाध्य भयो ।
चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५ औं संस्करणको बूढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बूढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।
एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । पछिल्लो भेट उनीहरूको २५ औं संस्करणको बूढासुब्बा गोल्डकपको फाइलनमा भएको थियो ।
प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए ।
आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टारबीच हुनेछ ।
View : 94
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved