Biratnagar, Morang, Nepal
२ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचामा माघी महोत्सवको तयारी

उद्‌घोष सम्वाददाता
१ माघ २०८१, मङ्गलवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–४ मा रहेको थारू सांस्कृतिक संग्रहालयको आयोजनामा माघ १ देखि ७ गतेसम्म माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सांस्कृतिक संग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो । 

कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचान सहितको संस्कार र संस्कृति भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको हो । 

माघी महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनी लगायतका करिब ७० भन्दा बढी स्टलहरू रहने महोत्सवका संयोजक तेजनारायण चौधरीले बताए । महोत्सवमा ४० वटा औद्योगिक र ३० वटा खानपिनको स्टल हुने संयोजक चौधरीले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुतिलाई  विशेष प्राथमिकता दिइएको चौधरीले बताए । महोत्सवमा थारू सांस्कृतिक झाकी र्याली प्रदर्शन, थारू सीप हस्तकला प्रदर्शनी लगायतका कार्यक्रमा हुने जनाइएको छ ।

महोत्सवको व्यवस्थापनका लागि करिब ६० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा दैनिक ५० लाख देखि १ करोडसम्मको व्यापार हुने साथै दैनिक १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा शारीरिक रूपमा अशक्तका साथै विद्यालयका विद्यार्थीहरूका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved