विराटनगर । होलीमा रंगहरूको प्रयोग बढी नै मात्रामा हुने गर्छ । बजारमा पाइने त्यस्ता रंगहरूमा हानिकारक केमिकलहरू मिसाइएको हुन्छ ।
जुन केमिकल आँखामा वा छालामा परे विभिन्न प्रकारका समस्याहरू देखा पर्दछन् । हामीले प्रयोग गर्ने रगंहरूमा लिड अक्साइड, कपर सल्फेट, मरकरी जस्ता हानिकारक रसायनहरूको मिसावट भएको हुन्छ ।
यस्ता रसायन आँखामा परेको खण्डमा आँखामा प्रतिकृया देखाएर आँखा रातो हुने, इरिटेसन हुने, आँखाको एलर्जी हुने जस्ता समस्याहरू देखिन थाल्छ ।
कसैकसैको आँखा बढी नै संवेदनशील देखिने हुनाले यस्ता रंगहरूको प्रयोगले आँखाको ज्योति नै गुमेर अन्धोपनको समस्या समेत देखिन सक्ने भएकाले रंगहरूसँग खेल्दा सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।
होली खेल्दा कतिपय मानिसहरूले धुलो रंगसँगै लिक्विड रंगको यस्ता रंगहरूमध्ये सुख्खा रंग पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता रंगहरूमध्ये लिक्विड रंग अझ बढी हानिकारक हुने गर्दछ जुन एसिडभन्दा पनि बढी खतरानाक हुन्छ ।
यस्ता रंगहरूले शरिरको भित्री भागसम्म छिटो असर पुर्याउँछ । त्यसैले कसैले होलीको बहानामा यस्तो रंग जान अन्जानमा प्रयोग गरेको खण्डमा नाई भन्नु जरुरी हुन्छ ।
होलीमा रंगसँग खेल्दा आँखाको लागि चस्माको प्रयोग गर्ने मानिसले अझ बढी सावधानी अपनाउनुपर्छ ।
समस्या देखिएमा के गर्ने ?
कहिलेकाहीँ समस्याहरूबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै पनि समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा जो ब्यक्तिको आँखामा समस्या देखिएको छ, त्यो ब्यक्तिले सबैभन्दा पहिले आफूलाई कुल राख्ने कोशिस गर्नुपर्छ ।
कोही ब्यक्ति आफूमा सामान्य समस्या देखिएमा पनि आत्तिएर प्रेसर बढाइरहेको पाइन्छ, जसले शरीरको रक्त प्रवाहमा गडबढ भई थप समस्या निम्तिन सक्छ त्यसैले सबैभन्दा पहिले आफूलाई सामान्य अवस्थामा राख्नु अत्यन्तै जरुरी हुन्छ ।
जहाँ त्यस्तो समस्या देखिएको छ, त्यस ठाउँबाट आफूलाई टाढा राख्ने अर्थात भिडभाडबाट टाढै रहने कोसिस गर्नुपर्छ । यदि आँखामा कन्ट्राक्ट लेन्सको प्रयोग गरिएको छ भने राम्रोसँग साबुन पानीले हात धोएर तुरुन्त चस्मा निकाल्नुपर्छ ।
कन्ट्राक्ट लेन्समा लामो समयसम्म रंग रहिरह्यो भने त्यो रंगमा भएको केमिकलले आँखाको सर्फेसलाई ड्यामेज गरिदिन्छ त्यसैले चस्मा जतिसक्दो चाँडो निकाल्नुपर्छ ।
आँखामा रंग पसेको देखिएमा आँखालाई सफा पानीले पखाल्नुपर्छ । यसरी आँखा पखाल्दा जबरजस्ती पानी छ्याप्नु हुँदैन ।
यदि जवरजस्ती पानी छ्याप्यो भने आँखामा इन्जुरी गराउन सक्छ । त्यसैले जति सकिन्छ आँखाबाट रंग हटाउन हत्केलामा पानी राखेर अथवा सानो धारा खोलेर सफा गर्न सकिन्छ ।
आखामा रंग पस्यो भनेर जवरजस्ती कपडा वा टिस्युको प्रयोग गर्ने गल्ती गर्नु हुँदैन । यदि त्यस्तो गरेको खण्डमा घर्षणले अझ समस्या निम्तन सक्छ ।
यदि लामो समयसम्म आँखा रातो हुने, आँखा हेर्न अप्ठ्यारो महशुस भएमा तुरुन्त नजिकैको आँखा अस्पताल तथा सम्बन्धित चिकित्सककहाँ गई परामर्श लिनु अत्यन्तै जरुरी हुन्छ ।
View : 131
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved