Biratnagar, Morang, Nepal
१२ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

बुढीगंगामा सुरू भयो राष्ट्रपति रनिङ शिल्ड

उद्घोष सम्वाददाता
१२ मंसिर २०८१, बुधवार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरू भएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका हुन् ।

बुढीगंगा गाउँपालिकाको आयोजनामा सुरू भएको प्रतियोगिता मंसिर १५ गते सकिने जनाइएको छ । 

बुढीगंगा गाउँपालिका–१ स्थित नरग्राम नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा सुरू भएको प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी ३५ वटा विद्यालयका करिब ८ सय खेलाडी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक कैलाश केसीले बताए ।

रनिङ शिल्डका साथै प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत चित्रकला, नृत्य, वक्तृत्वकला र गायन प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । 

खेलकुद प्रतियोगितामा भलिबल, कवड्डी, कराँते र एथलेटिक्स अन्तर्गतका खेलमा विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताका खेलहरू भने बाँसबारीस्थित जनप्रिय माध्यमिक विद्यालयको मैदानमा हुनेछन् ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा पूर्व खेलकुदमन्त्री डीगबहादुर लिम्बू, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, उद्योगी नवीन रिजाललगायतले शुभकामना दिएका थिए ।

मंगलबार नै भएको तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगितामा नरग्राम माविकी छात्रा उषन नेपाल प्रथम भएकी छन् । १८ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै उषनले पहिलो पुरस्कार जित्न सफल भइन् । 

‘हाम्रो संस्कृतिः हाम्रो पहिचान’ शीर्षकमा आयोजित प्रतियोगितामा जेभियर इङ्लीस स्कुलका छात्र आदित्य कार्की द्वितीय हुँदा लक्ष्मी माविकी छात्रा पिंकी सहनी तृतीय भइन् । 

कवि एवं पत्रकार मीनकुमार नवोदित र विराटनगरस्थित आदर्श माविका नेपाली विषयका शिक्षक पुण्यराज खनाल निर्णायक रहेको समितिले प्रतिस्पर्धी १८ विद्यालयमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो । 

त्यस्तै मंगलबार नै गायन प्रतियोगिता भएको छ । 

प्रतियोगितामा जेभियर इङ्लीस स्कुलका छात्र निराजन हिङ्माङ प्रथम, नरग्राम माविकी छात्रा सदीक्षा राई द्वितीय, मोरङ पब्लिक स्कुलका छात्र नेशन अपूर्व खनाल र कोर्वान इङ्लीस स्कुलका छात्र जेनिश झाले सान्त्वना स्थान प्राप्त गरे ।

View : 21

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved