विराटनगर : बायो–इथिक्स दिवसका अवसरमा धरानमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । बायो–इथिक्स नेपाल इकाईको आयोजनामा भएको कार्यक्रम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको छ ।
नेपालका विभिन्न मेडिकल कलेजहरूबाट सहभागिता रहेको ऊक्त कार्यत्रममा विद्यार्थीहरूले ‘भावी पुस्ताको संरक्षण’ अवधारणामा विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाल इकाईका प्रमुख तथा नेपालका लागि कार्यक्रम संयोजक प्राडा धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निबन्ध, कविता, चित्रकला, पोस्टर, शोध तथा फोटोहरूको प्रतियोगिता भएका थिए ।
उक्त अवसरमा भएको फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य, आँसु झा र शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भएका छन् । आर्ट पोस्टर प्रतियोगितामा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य प्रथम, द्वितीय र तृतीय भए । अनुसन्धान पोस्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली पुरस्कृत भए ।
कार्यक्रम संयोजक नेपाल इकाई तथा प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख प्राडा धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन गर्ने यस्ता अवसर र कार्यक्रमहरू नियमित र विस्तारित हुँदै जाने बताए ।
विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीति–नियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।
View : 250
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved