विराटनगर । विराटनगरस्थित गायत्री संस्कृत माध्यमिक विद्यालयले आफ्नो ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक चूडामणि नेपालले आफूले पाउने तीन वर्षको प्रअ भत्ता आफ्नै विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई वितरण गरेका थिए । माध्यमिक विद्यालयका प्रधानाध्यापकले वार्षिक रूपमा छ हजार भत्ता पाउने गरेका छन् ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत नारायण पोखरेलले आफ्ना स्वर्गीय पिता माताका नाममा स्थापना गरिने ‘टङ्क मञ्जरी स्मृति छात्रवृत्ति कोषबाट’ १० जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गरे । साथै उनले विद्यालयमा माता पिताको नाममा एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिने जानकारी गराए ।
वार्षिकोत्सव कार्यक्रममा शिक्षकहरू कविता कार्की, बलराम कोइराला, दुरेन्द्रकुमार मण्डल, अञ्जना भट्टराई र पुण्यकला तिम्सिनालाई उत्कृष्ट वर्ष शिक्षकका रूपमा सम्मान र पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखेल, सदस्यहरू तारानन्द मण्डल, तुलसीराम विश्वकर्मा, गीता विश्वकर्मा, पुनम कामत र कल्यानीकुमारी कर्णलाई समेत विद्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले गायत्री संस्कृत विद्यालयले अहिलेको आवश्यकता बमोजिम पूर्वीय र पाश्चात्य दुवै धारलाई अँगाल्दै शिक्षा दिइरहेको बताउँदै अझै यसलाई नमुनायोग्य विद्यालय बनाउनेतर्फ लाग्न सुझाव दिए ।
संस्कृत विद्यालय भए पनि सो विद्यालयमा नेपाली, मुस्लिम, राई, लिम्बू, थारू, चौधरी, राजवंशी, मैथिली, दलित र पिछडा वर्गका विद्यार्थीहरू समभावले संस्कृत शिक्षा भाषा, साहित्य, व्याकरण र योगशास्त्र समेतको अध्ययन गरिरहेको प्रधानाध्यापक चुडामणि नेपालले जानकारी दिए ।
कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा समेत पठनपाठन भइरहेको उनले बताए ।
कार्यक्रममा वार्षिक गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
View : 454
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved