विराटनगर। बडादशैँको पावन अवसर पारेर विराटनगर–१३ स्थित डीएभी स्कुलको जुनियर ब्लकमा आयाेजित बहुआयामिक शैक्षिक तथा सांस्कृतिक उत्सव ‘डीएभी तरङ्ग’ बिहीबार भव्यताका साथ सम्पन्न भएको छ।
नर्सरीदेखि कक्षा ४ सम्मका करिब चार सय साना बालबालिकाहरूको अन्तरनिहित प्रतिभा र सिर्जनशीलता प्रस्फुटन गराउने उद्देश्यले यो विशेष महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा साना विद्यार्थीहरूले मात्र ४-५ दिनको छोटो अवधिमा तयार पारेका २५ भन्दा बढी फरक-फरक प्रदर्शनी कक्ष (मोडल) तथा चित्रकला प्रस्तुत गरेका थिए।
बालबालिकाहरूले विश्वव्यापी तापक्रम वृद्धिले ल्याएका चुनौती, वृक्षरोपण तथा बीउ उम्रिने प्रक्रिया, हावाबाट चल्ने मिल, दैनिक कार्यतालिका, ट्राफिक सचेतना, विभिन्न जनजातिका मौलिक पोशाक र ज्वालामुखी जस्ता समसामयिक विषयमा आधारित उत्कृष्ट मोडलहरू प्रदर्शन गरेका हुन्।
विद्यालयका प्राचार्य रमेशकुमार मिश्राले साना बालबालिकाहरूमा रहेको अद्भुत रचनात्मक क्षमता र व्यावहारिक ज्ञानको उच्च प्रशंसा गर्दै यस्ता व्यावहारिक र रचनात्मक कार्यक्रमहरूले उनीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
विद्यार्थीहरूले तयार पारेका मोडलका साथै मनोरञ्जनात्मक कक्ष तथा स्वादिष्ट खानाका स्टलहरू महोत्सवका मुख्य आकर्षण बनेका थिए।
समारोहमा ठूलो संख्यामा उपस्थित अभिभावकहरूले साना बालबालिकाहरूको सिर्जनशीलता, मेहनत र कलाको प्रत्यक्ष अवलोकन गर्दै उनीहरूको हौसला बढाएका थिए।
यसैबीच, विराटनगर–१७ स्थित डीएभी स्कुलको सिनियर ब्लकमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूका लागि आयोजना गरिएको विज्ञान प्रदर्शनी, चित्रकला तथा खाद्य स्टलसहितको ‘डीएभी तरङ्ग’ उत्सव पनि उत्साहका साथ शुक्रबार सम्पन्न गरेकाे थियाे ।
जुनियर ब्लकको महोत्सव समापनसँगै विद्यालयले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा बडादशैँको शुभकामना व्यक्त गर्दै दशैँ बिदाको घोषणा गरेको छ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved