Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङ क्याम्पसमा प्रमुखको अनुपस्थितिप्रति प्राध्यापकको गम्भीर आपत्ति

३० साउन २०८२, शुक्रवार

Advertisement

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्रमुखको अनुपस्थितिप्रति प्राध्यापक संघको गम्भीर आपत्ति
विराटनगर । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस एकाई समितिले क्याम्पस प्रशासनप्रति कडा आपत्ति जनाएको छ। लामो समयदेखि क्याम्पस प्रमुख सम्पर्कविहीन रहेकाले शैक्षिक र प्रशासनिक गतिविधि प्रभावित भएको संघको आरोप छ।

संघका अध्यक्ष डा सत्यनारायण साह र सचिव नवीन अधिकारीद्वारा संयुक्त रुपमा हस्ताक्षरित   विज्ञप्तिमा उल्लेख गरिएअनुसार, क्याम्पस प्रमुखको अनुपस्थितिका कारण नियमित कक्षा सञ्चालन, परीक्षा तालिका, परीक्षाफल प्रकाशन तथा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्य समयमै सम्पन्न हुन नसकेको जनाएको छ। यसका अतिरिक्त, ठूला शैक्षिक तथा प्रशासनिक योजना समेत प्रभावित भएको संघको दाबी छ।

संघका अनुसार, क्याम्पसमा विद्यमान यो अवस्था शिक्षण–अध्ययनको गुणस्तरमा प्रत्यक्ष असर पार्दै गएको छ। विद्यार्थीहरू आवश्यक मार्गदर्शन र सेवा पाउन नसकेको, कर्मचारी र प्राध्यापकहरू प्रशासनिक निर्णयमा स्पष्टता नपाएको र शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त भएको संघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिले क्याम्पसको छवि मात्र कमजोर बनाएको छैन, विद्यार्थीहरूको भविष्य समेत अनिश्चिततामा धकेलिएको छ। सम्बन्धित निकायले तत्काल कार्यवाहक प्रमुख नियुक्त गरी व्यवस्थापनमा सुधार ल्याउनुपर्ने अत्यावश्यक छ।’

संघले शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र सम्बन्धित प्राधिकरणलाई शीघ्र कदम चाल्न आग्रह गर्दै क्याम्पसको नियमित शैक्षिक वातावरण पुनस्र्थापना गर्न माग गरेको छ। 
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाली कांग्रेस निकट संस्था हो । हालका क्याम्पस प्रमुख पनि सोही संघको सिफारिसमा नियुक्त भएका हुन् । 
 

View : 651

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved