विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको अपर संखुवाखोला जलविद्युत् आयोजनाले निर्माणको गति लिएको छ । ह्याप्पी इनर्जी प्रालिले प्रवद्र्धन गरेको आगामी दुई वर्षभित्र (सन् २०२८ भित्र) व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
संखुवाखोला र लुङ्सुङ खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजना नदी प्रवाहमा आधारित प्रकृतिको हो । सिलिचोङ गाउँपालिका–१ र २ मा फैलिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ भने नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत पूरा भइसकेको छ ।
सो आयोजनाले २०८० असोज ३० मा निर्माण अनुमतिपत्र प्राप्त गरेको हो । आयोजनाको मुख्य संरचना संखुवाखोला र लुङ्सुङ खोलाको आसपास निर्माण हुनेछ ।
आयोजनामा ३ हजार ६५० मिटर लामो मुख्य हेडरेस टनेल, १८० मिटर लामो अडिट टनेल तथा पानी निकासका लागि टेलरेस संरचना निर्माण गरिनेछ । प्रतिसेकेन्ड ९.६१ घनमिटर पानीको बहाव उपयोग गरी दुईवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइनमार्फत विद्युत उत्पादन गरिनेछ ।
आयोजनाको निर्माण सुपरिवेक्षण तथा प्राविधिक परामर्शका लागि सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिले गत २०२५ फेब्रुअरीमा ह्याप्पी इनर्जीसँग सम्झौता गरेको थियो ।
त्यस्तै, २०२६ अप्रिल २० मा अन्तर्राष्ट्रिय जलविद्युत् उपकरण निर्माता कम्पनी एन्ड्रिट्ज हाइड्रोपावर इन्डियाले आयोजनाका लागि सम्पूर्ण इलेक्ट्रोमेकानिकल उपकरण तथा सेवा उपलब्ध गराउने सम्झौता समेत भइसकेको जनाइएको छ ।
आयोजनाबाट वार्षिक २४४.४२६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य रहेको छ । वर्षायाममा १६४.७७ गिगावाट घण्टा र हिउँदमा ७०.६३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
संखुवा र लुङ्सुङ खोला दुवै हिमाली नदी भएका कारण हिउँ पग्लिने समयमा समेत पानीको बहाव कायम रहने र यसले सुख्खायामको उत्पादनमा ठुलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
आयोजनाको प्रारम्भिक अनुमानित लागत सात अर्ब ८८ करोड रुपैयाँ रहेकोमा गत बर्षको वित्तीय मूल्यांकन प्रतिवेदनमा आयोजनाको अनुमानित लागत आठ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी परिचालन गर्ने वित्तीय संरचना तय गरिएको छ । यसअनुसार ६ अर्ब १८ करोड रुपैयाँ बैंक ऋण र दुई अर्ब ६ करोड १० लाख रुपैयाँ स्वपूँजी रहनेछ । प्रवद्र्धक कम्पनीले एक अर्ब नौ करोड ९० लाख रुपैयाँ स्वपूँजी लगानी गरिसकेको जनाइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पु¥याउन १९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । त्यो काम ह्याप्पी इनर्जीले गर्नेछ ।
उक्त प्रसारण लाइन आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनसम्मको छ ।
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved