विराटनगर । विराटनगरको औद्योगिक आधारबाट उत्पादन विस्तार गर्दै राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजले पछिल्ला दुई वर्षमा कारोबार ५३ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ ।
कारोबारसँगै कम्पनीको नाफा मार्जिनमा सुधार, नगद सिर्जना क्षमतामा वृद्धि र कर्जाको भारमा कमी आएपछि कम्पनीको वित्तीय अवस्था पनि क्रमशः बलियो बन्दै गएको देखिएको हो ।
राठी ग्रुपअन्तर्गत सञ्चालित अन्नपूर्ण राठी केबलको कारोबार सन् २०२६ मा १७ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको जनाइएको छ । कम्पनीले सन् २०२५ मा ३ अर्ब २५ करोड ७० लाख रुपैयाँ र सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।
यसअनुसार दुई वर्षको अवधिमा कम्पनीको कारोबार १ अर्ब ३२ करोड २० लाख रुपैयाँले बढेको छ । प्रतिशतका आधारमा हेर्दा सन् २०२४ को तुलनामा २०२६ मा कम्पनीको कारोबार ५३ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
सन् २०२५ मा कारोबार वृद्धि दर ३१ प्रतिशत रहेकोमा २०२६ मा पनि १७ प्रतिशतको वृद्धि कायम भएको छ ।
विराटनगरलाई उत्पादन तथा व्यावसायिक आधार बनाएको कम्पनीले घरमा प्रयोग हुने वायरिङ केबलदेखि पावर केबल, एबीसी, एसीएसआर र कन्सेन्ट्रिक केबलसम्म उत्पादन गर्दै आएको छ । आन्तरिक बजारमा कम्पनीले ‘राठी’ र ‘अन्नपूर्ण’ ब्रान्डमार्फत आफ्ना उत्पादन बिक्री–वितरण गर्दै आएको प्रोजेक्ट सेल्स हेड सन्तोष सापकोटाले बताए ।
अन्नपूर्ण राठी केबलको पछिल्लो वित्तीय विवरणमा कारोबार वृद्धिसँगै नाफा मार्जिनमा पनि सुधार देखिएको छ । कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा ८.२१ प्रतिशत रहेकोमा सन् २०२६ मा बढेर १०.२६ प्रतिशत पुगेको छ ।
त्यस्तै, खुद नाफा मार्जिन पनि ४.२२ प्रतिशतबाट बढेर ५.२९ प्रतिशत पुगेको छ । अर्थात् बिक्री बढ्नुका साथै कम्पनीले आफ्नो सञ्चालनबाट प्राप्त हुने आम्दानीलाई नाफामा रूपान्तरण गर्ने क्षमता पनि सुधार गरेको देखिन्छ ।
कम्पनीको ग्रस क्यास एक्रुअलमा पनि उल्लेख्य सुधार भएको छ । सन् २०२५ मा १७ करोड ४० लाख रुपैयाँ रहेको यस्तो रकम सन् २०२६ मा बढेर २६ करोड रुपैयाँ पुगेको छ ।
यसले कम्पनीको सञ्चालनबाट सिर्जना हुने नगद क्षमतामा सुधार भएको संकेत गर्छ । कारोबार विस्तारका क्रममा कार्यशील पुँजीको आवश्यकता बढ्ने भए पनि नगद सिर्जना क्षमता बढ्नु कम्पनीको ऋण व्यवस्थापन र ब्याज भुक्तानी क्षमताका लागि सकारात्मक मानिन्छ ।
कम्पनीको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने अर्को महत्वपूर्ण पक्ष ऋण तथा इक्विटी संरचनामा आएको परिवर्तन हो । पछिल्लो विवरणअनुसार कम्पनीको दीर्घकालीन कर्जा सन् २०२६ को अन्त्यसम्म २१ करोड ४० लाख रुपैयाँमा झरेको छ ।
थप इक्विटी लगानी तथा सेयर आवेदन रकमका कारण कम्पनीको पुँजीगत अवस्था पनि सहज बनेको छ । कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ भने प्रिमियमसहितको इक्विटीका लागि ४० करोड ५० लाख रुपैयाँ अग्रिम रकम रहेको छ ।
कम्पनीको ट्यान्जिबल नेट वर्थ १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । इक्विटी बढ्दै जाँदा कम्पनीको गियरिङ अनुपात पनि सुधारिएको छ । सन् २०२५ मा ०.६९ गुणा रहेको गियरिङ अनुपात सन् २०२६ मा घटेर ०.४९ गुणामा आएको छ ।
त्यस्तै, कुल बाह्य दायित्व र ट्यान्जिबल नेट वर्थको अनुपात ०.५६ गुणामा कायम भएको छ । यसले कम्पनीको कुल दायित्वको तुलनामा आफ्नै पुँजीको आधार बलियो बन्दै गएको देखाउँछ ।
कम्पनीको सञ्चालन नाफामा भएको सुधारको प्रत्यक्ष प्रभाव ब्याज भुक्तानी क्षमतामा पनि परेको छ । सन् २०२५ मा २.७१ गुणा रहेको ब्याज भुक्तानी क्षमता अनुपात सन् २०२६ मा बढेर ६.०४ गुणा पुगेको छ ।
यसको अर्थ कम्पनीले आफ्नो सञ्चालनबाट प्राप्त आम्दानीबाट ब्याज खर्च धान्ने क्षमता उल्लेख्य रूपमा बढाएको छ । त्यस्तै, कुल कर्जा र ग्रस क्यास एक्रुअलको अनुपात पनि ४.०५ गुणाबाट घटेर २.९३ गुणामा आएको छ ।
कारोबार बढ्दै जाँदा कर्जाको तुलनामा नगद सिर्जना क्षमता बढ्नु कम्पनीको वित्तीय जोखिम घटाउने महत्वपूर्ण आधार हो ।
अन्नपूर्ण राठी केबल सन् २०२५ को जुनमा पब्लिक कम्पनीमा परिणत भएको थियो । पब्लिक कम्पनीमा रूपान्तरणपछि कम्पनीको पुँजी संरचना विस्तारसँगै उत्पादन तथा बजार विस्तारका लागि थप अवसर सिर्जना भएको छ ।
राठी ग्रुपद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ७२ करोड ५४ लाख रुपैयाँको रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जातर्फ ४० करोड ४ लाख रुपैयाँ र अल्पकालीन कर्जातर्फ २ अर्ब ३२ करोड ५० लाख रुपैयाँको रेटिङ रहेको छ ।
कम्पनीका अध्यक्ष श्याम राठी हुन् । राठीसँग उत्पादन, ट्रेडिङ तथा वितरण क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको कम्पनीले जनाएको छ ।
विद्युतीय तार तथा केबलको बजार विस्तारसँगै अन्नपूर्ण राठी केबलले आफ्नो उत्पादन र वितरण सञ्जाललाई पनि विस्तार गर्दै आएको छ । निर्माण, आवास, औद्योगिक पूर्वाधार तथा विद्युत् वितरण प्रणालीमा केबलको माग बढ्दै जाँदा कम्पनीका लागि बजार विस्तारको सम्भावना पनि बढेको छ ।
विशेषगरी नेपालमा विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार विस्तार भइरहेका कारण पावर केबल, एबीसी र एसीएसआरजस्ता उत्पादनको बजार विस्तार हुने सम्भावना छ । आवासीय तथा व्यावसायिक भवन निर्माणमा प्रयोग हुने वायरिङ केबलको माग पनि कम्पनीको कारोबार वृद्धिको अर्को आधार हो ।
तर, केबल उद्योग कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँग प्रत्यक्ष जोडिएको व्यवसाय हो । तामा तथा एल्युमिनियमको अन्तर्राष्ट्रिय मूल्य, आयात लागत, ब्याजदर र निर्माण तथा पूर्वाधार क्षेत्रको मागले कम्पनीको आगामी वित्तीय प्रदर्शनलाई प्रभावित गर्न सक्छ ।
यद्यपि पछिल्लो दुई वर्षको वित्तीय प्रदर्शनले अन्नपूर्ण राठी केबल विराटनगरमा आधारित उद्योगबाट राष्ट्रिय बजारमा विस्तार हुँदै गरेको देखाएको छ । कारोबार ५३ प्रतिशतभन्दा बढी बढ्नु, सञ्चालन तथा खुद नाफा मार्जिनमा सुधार हुनु, नगद सिर्जना क्षमता बढ्नु र कर्जाको भार घट्दै जानुले कम्पनीको ‘ग्रोथ स्टोरी’ आगामी दिनमा अझ बलियो हुने कम्पनीले जनाएको छ ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved