विराटनगर । मोरङ ग्रामथानका अधिकांश किसानहरु रासायनिक मलको अभावका कारण बेलामा धान रोप्न नपाउने डरले चिन्तित भएका छन् । समयमै पर्याप्त मल पाउने सोचका साथ बीउ राखेर असारभरिमा रोपाइँ सक्ने सोच बनाएका उनीहरुले त्यस्तो समस्या भोग्नु परेको हो ।
असारको आधा महिना बितिसक्दा समेत उनीहरुले रासायनिक मल युरिया र डीएपीको अभावले खेत रोप्न सुरु गर्न पाएका छैनन् । ब्याडको बीउ छिप्पिने डरले समेत उनीहरु चिन्तित भएको बताउँछन् ।
मोरङको ग्रँमथान–२, झोराहाटका कृषक केशव चौधरी सोमबार मल लिन सहकारी संस्थामा पुगे । संस्थामा किसानहरुको भीड थियो । हातमा बोरा बोकेर लाममा बसेका उनीहरु आफ्नो पालो आउँछ र मल लिए जाउँला भन्ने आशमा पर्खिरहेका थिए । तर, केशव भने लाम देखेरै घर फर्किए ।
सो संस्थामा १ सय बोरा मात्रै मल आएको र आफ्नो पालो आउँदासम्म खाली बोरा लिएर साँझ पर्न लागेपछि जानुपर्ने अवस्था आउन सक्ने ठानेर उनी घर फर्किएको बताउँछन् ।
केशव त फर्किए । तर, उनीपछि आएका २०–२५ जना कृषक पर्खिरहेका थिए । जो ‘मल पाउँछु र घर लिएर जान्छु’ भन्ने अपेक्षाका साथ लाममा पछाडि बसेका थिए । अन्ततः उनीहरुले मल नपाएर खाली हात फर्किनु परेको सो सहकारीका कर्मचारी राजु माझीले बताए । उनले कृषि सामग्री कम्पनीबाट आएको २५ किलो डीएपी प्रत्येक कृषकलाई बाँडेको बताए ।
उनले भने, ‘बाँड्दाखेरि २०० कृषकले पाएको र त्यो भन्दा बढी कृषकले रासायनिक मल नपाएका हुन् ।’
१ बिघा खेतका लागि ५० केजीसम्म डीएपी र युरिया मल लाग्ने गरेको र कम भएमा धानको बोट सप्रिन नसकेर उब्जनी कम हुने ग्रामथान–५ की कृषक दुर्गा ढकालको भनाइ छ ।
अर्काको दुई बिघा खेत ठेक्का लिएर रोप्न ठिक्क पारेकी उनी ठेक्का तिर्नसमेत धान उब्जनी नहुने हो कि भन्ने कुराले चिन्तित भएको बताउँछिन् । असारभरिमा धान रोपिसक्ने उद्देश्यले बीउ राखेको उनले बताइन् ।
उनी भन्छिन्, ‘पातलो मल हाल्दा पनि केही अर्थ नभएझैं हुन्छ र बढी हँल्न आधा बोरा डीएपीले के गर्नु ?’ उनी नवनिर्वाचित सरकारबाट आशातीत फल नपाएको गुनासो गर्दै थप्छिन्, ‘विगतका दिनमा पनि यही समस्या भोगेका थियौं । अहिले पनि यही समस्या भोग्नु परेको छ । आखिर सरकारमा जो आए पनि सरकार जसको बने पनि हाम्रा लागि केही फरक देखिएन ।’
भारतबाट नेपालतर्फ मोटरसाइकलमा अवैध रुपमा चोरी पैठारी गरेर किसानले देशमा डीएपी र युरिया त भित्र्याउँछन् । तर, सो मल गुणस्तरहीन भएको कृषकहरुको बुझाइ छ ।
कृषकहरुले मल महंगो र त्यस्तो काम गैरकानुनी भएको हुँदा त्यस्तो नगरेको बताएका छन् । यद्यपि मोरङको सीमानजिक रहेका पालिकाका अन्य किसानहरुले त्यस्तो उपायसमेत अपनाउन बाध्य भएका छन् ।
ग्रामथान गाउँपालिकाकी कृषि शाखाकी नायब प्राविधिक सहायक धनकला राईका अनुसार कृषि सामग्री केन्द्र र साल्ट टे«ेडिङ कर्पोरेशनबाट थोरै मल खटाएर पालिकामा पठाएको हुँदा वितरक कम्पनीहरुले आधा बोरा मात्रै बाँड्नु परेको हो । गाउँपालिकाभरिका वितरक कम्पनीहरुमा साल्ट टे«डिङ कर्पोरेशनबाट ४०० बोरा र कृषि सामग्री केन्द्रबाट पनि ४०० बोरा डीएपी आएको उनले जानकारी दिइन् ।
उनले कृषि सामग्री कम्पनीबाट १४ सय बोरा र साल्ट टे«ेडिङबाट २ सय ४० बोरा युरिया आएको बताइन् । कृषकको संख्या र सम्बन्धित निकायबाट आएको मलबीचको ठूलो अन्तरले कृषकले आधा बोरा मात्रै मल पाएको बताइएको छ ।
ग्रामथान गाउँपालिकाभरि ११ वटा साल्ट टे«डिङको डिलर रहेको र १३ वटा कृषि सामग्री कम्पनीको डिलर रहेको कृषि शाखाकी कर्मचारी राईले बताइन् ।
मोरङका अन्य पालिकाहरुमा पनि सो समस्या देखिएको छ ।
विराटनगरको जतुवा घर भएका एक कृषकले पनि सरकारले अनुदानबाट वितरण गरेको मल पर्याप्त नहुने हुँदा भारतबाट अवैध रुपमा ल्याएर खेतमा हालेर रोपाइँ गरेको बताएका छन् ।
उनले भने, ‘सरकार फेरियो, अब त आमूल परिवर्तन होला भन्ने लाग्याथ्यो । आखिर अनुहार फेरियो । तर, अवस्था भने उही देखिएको छ ।’
कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख कमल पोखरेलले भने असारको अन्तिम हप्तादेखि साउनको पहिलो सातासम्मको समयावधिभित्र किसानहरुले धेरै मात्रामा मल पाउने बताएका छन् ।
मध्यपूर्वमा चर्किएको युद्धका कारण नेपालमा पर्याप्त मल आयात हुन नपाएको कारण अहिले यस्तो अवस्था आएको उनले बताए ।
त्यस्तै मोरङमा रहेका मल वितरक कम्पनीहरुले एक हप्तादेखि नै मल लान थालिसकेको उनले बताए । उनले ग्रामथान गाउँपालिकाका दुईवटा वितरक कम्पनीले बुधबार बिल काटेर लान ठीक पारेको र अन्य दुईवटा वितरक कम्पनीले अझैसम्म बिल नकाटेको बताए ।
वर्तमान सरकारले भारतसँग जीटूजी सम्झौता गरेर डेढ लाख मेट्रिक टन मल खरिद गर्ने योजना ल्याएको थियो ।
खेत रोप्ने समयमा मलको अभाव नहोस् भनेर जीटूजी सम्झौता गरेको बताइन्छ । यद्यपि कार्यान्वयनमा भने समस्या देखिएको छ ।
अहिलेसम्म सो सम्झौता कार्यान्वयन नहुँदा किसानले अपुग मल लिनु पर्ने बाध्यता आएको हो । मुलुकमा वार्षिक सात लाख मेट्रिक टन मलको माग हुने गरेको एक तथ्यांकले देखाएको छ । माग अनुसार मल आयात नहुँदा बर्सेनि धान रोप्ने बेलामा किसानले अभाव खेप्नु परेको हो ।
यसैबीच सरकारी निकायले समयमै किसानलाई आवश्यक मल उपलब्ध नगराएको भन्दै धान दिवसमा नेपाल किसान महासंघ मोरङले सांकेतिक विरोध गरेको छ ।
महासंघले असार १५ गते सोमबार धान दिवसमा कालो व्यानरसहित किसानलाइ समयमै मलखाद उपलब्घ गराउन सरकारलाई दबाब दिएको महासंघ मोरङका सभापति बसन्त हुमागाईंले बताए ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved