Biratnagar, Morang, Nepal
१५ माघ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरीमा प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८१, आइतवार

Advertisement

सुनसरी । इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा मंसिर २१ र २२ गते हुने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूले सहभागिता जनाउने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

इटहरी रंगशाला परिसरको कवर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर बिधामा बिभिन्न उमेर समूहमा प्रतिष्पर्धा हुने आयोजक कमिटीका अध्यक्ष कुमार गुरुङले जानकारी दिए । 

कोशी प्रदेशमा रहेका बिभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिष्पर्धा गर्ने प्रतियोगिताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई पनि सहयोग पुग्ने बताइएको छ ।

करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदेशका बिभिन्न जिल्लाका धेरै खेलाडीहबीच प्रतिष्पर्धा हुँदा क्षमतावान खेलाडी निस्कने भएकाले विगतका वर्षहरूमा नगरस्तरिय प्रतियोगिता आयोजना गर्दै आएको डोजाङले यस वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले जानकारी दिए । 

तेक्वान्दोका बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको इटहरीमा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दा स्थानीय सरकारको सहयोग नपाएको गुरुङले बताए । 

इटहरीकै अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई गत साता काजकिस्तानमा भएको विश्वभरिका खेलाडीहरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै पहिलो निर्णायक बन्न सफल भएकी थिइन् । 

यस्तै विद्या राईले पनि गेरोगी अर्थात फाइटिङ बिधामा अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएको कोशी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष शिवराज दाहालले पत्रकार सम्मेलनमा जानकारी गराए ।

View : 81

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved