गुगलबाट प्राप्त फोटो ।
विराटनगर । हिमालको टुप्पोमा थुप्रिएको पानी कोशी प्रदेशकाका लागि ठूलो जोखिम बनिरहेका बेला सरकार ती तालको पानी घटाउने तयारीमा लागेको छ ।
सरकारले उच्च जोखिममा रहेका हिमतालको पानी घटाउने परियोजना अघि बढाएपछि संखुवासभा र सोलुखुम्बुका तीन हिमताल फेरि चर्चामा आएका छन् । ती हुन—तल्लो बरुण, लुम्डिङ छो र हुङ्गु–२ ।
कोशी प्रदेश विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएका विज्ञ रामकुमार दाहालले हिमाली क्षेत्रमा हुने यस्ता घटनाको असर माथिल्लो भूभागमै सीमित नहुने बताउँदै आएका छन् ।
उनका अनुसार कोशीको भौगोलिक बनोटका कारण हिमाली क्षेत्रमा हुने विपद्को प्रभाव नदीको बहावसँगै तलका बस्ती र पूर्वाधारसम्म पुग्न सक्छ ।
यही जोखिमका कारण सरकारले अहिले चार उच्च जोखिमयुक्त हिमतालको पानी घटाउने कार्यक्रम अघि बढाएको हो । चारमध्ये तीन कोशी नदी बेसिन (जलधार)मा र एउटा गण्डकी बेसिनमा पर्छ । कोशीका तीन ताल संखुवासभा र सोलुखुम्बुमा छन् ।
कोशीमा पानीको सतह घटाउने तयारी भइरहेको सबैभन्दा महत्वपूर्ण हिमतालमध्ये तल्लो बरुण हो । यो हिमताल संखुवासभाको मकालु क्षेत्रमा, मकालु हिमालको फेदीतिर करिब ४ हजार ५ सय मिटरको उचाइमा छ ।
यो मकालु–बरुण राष्ट्रिय निकुञ्जको बरुण उपत्यकामा पर्छ । ताल करिब २.७ किलोमिटर लामो र करिब ६ सय मिटर चौडा रहेको इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
तल्लो बरुण तालबाट निस्कने पानी बरुण नदीमा पुग्छ । बरुण नदी अगाडि गएर अरुण नदीमा मिसिन्छ । त्यसपछि यही नदी प्रणाली भोजपुर, धनकुटा, सुनसरी हुँदै सप्तकोशीमा जोडिन्छ ।
अर्थात् तल्लो बरुणमा ठूलो हिमताल विस्फोटको घटना भयो भने त्यसले तल्लो भूभागसम्मै असर गर्ने दाहाल बताउँछन् ।
तल्लो बरुणलाई इसिमोड र यूएनडीपीको अध्ययनले नेपालका सम्भावित जोखिमयुक्त हिमतालमध्ये सबैभन्दा ठूलो हिमतालका रूपमा पहिचान गरेको थियो । यसको प्राकृतिक बाँध मोरेन अर्थात् हिमनदीले थुपारेका ढुंगा, माटो र गेग्रानबाट बनेको छ ।
इसिमोड र काठमाडौं विश्वविद्यालयको टोलीले २०७८ सालमा तल्लो बरुणको स्थलगत अध्ययनसमेत गरेको थियो ।
अध्ययनमा तालको गहिराइ, पानीको मात्रा, प्राकृतिक बाँधको अवस्था, आसपासको भूगोल र सम्भावित जोखिमको अध्ययन गरिएको थियो ।
कोशीको अर्को जोखिमयुक्त हिमताल हो—लुम्डिङ छो ।
यो सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा रहेको हिमताल हो । सोलुखुम्बुको हिमाली भूभागबाट निस्कने नदी प्रणाली दूधकोशीमा जोडिन्छ । दूधकोशी तल झर्दै गएर कोशी नदी प्रणालीको महत्वपूर्ण हिस्सा बन्छ ।
लुम्डिङ छोको जोखिमलाई पनि यही जलाधारसँग जोडेर हेर्नुपर्ने विज्ञहरुको भनाइ छ ।
हिमतालमा पानीको मात्रा बढ्दै जाँदा वा प्राकृतिक बाँध कमजोर हुँदै जाँदा अचानक पानी बाहिरिए त्यसको असर तलको नदी प्रणालीमा पुग्न सक्छ ।
सरकारको अहिलेको परियोजनाले लुम्डिङ छोको पानीको सतह घटाउने कामलाई नै जोखिम न्यूनीकरणको प्रमुख उपाय बनाएको छ ।
लुम्डिङ छोबाट आउने जोखिमको अर्को महत्वपूर्ण पक्ष सोलुखुम्बुको तल्लो भूभाग हो । हिमाली क्षेत्रबाट आउने अचानक ठूलो बहाव दूधकोशीको नदी प्रणालीमा थपिँदा नदी किनारका बस्ती, पुल, सडक जलविद्य्त र अन्य पूर्वाधार जोखिममा पर्न सक्छन् ।
त्यसैगरी सरकारको प्राथमिकतामा परेको कोशी क्षेत्रकै अर्को हिमताल हो—हुङ्गुु–२ । यो पनि सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा रहेको हिमताल हो ।
हुङ्गुु क्षेत्रबाट निस्कने नदी प्रणाली दूधकोशीतर्फ जोडिन्छ । त्यसैले यसको जोखिम पनि अन्ततः कोशी नदी प्रणालीसँग सम्बन्धित हुन्छ । हुङ्गुु–२ लाई चार उच्च जोखिमयुक्त हिमतालको सूचीमा राखेर पानीको सतह घटाउने योजना अघि बढाइएको छ ।
तल्लो बरुण, लुम्डिङ छो र हुङ्गुु–२ फरक ठाउँमा छन् । तर, यी तीनवटै हिमतालको जोखिम कोशी नदी प्रणालीसँग जोडिन्छ । तल्लो बरुणको पानी बरुण हुँदै अरुणमा पुग्छ ।
सोलुखुम्बुका लुम्डिङ छो र हुङ्गुु–२ बाट आउने पानी दूधकोशी प्रणालीसँग जोडिन्छ । अरुण र दूधकोशी दुवै सप्तकोशीका प्रमुख सहायक नदी हुन् ।
रसुवा बाढीपछि हिमतालबारे अहिले अघि बढेको परियोजनाको आधिकारिक विवरणले चार हिमतालको पानीको सतह घटाउने, जोखिम अनुगमन गर्ने र पूर्वसूचना प्रणाली बलियो बनाउने कामलाई प्राथमिकता दिएको छ । परियोजनामा संरचनात्मक तथा गैरसंरचनात्मक दुवै उपाय समेटिएका छन् ।
नेपालले यसअघि च्छो रोल्पा र इम्जा हिमतालमा पानीको सतह घटाएर जोखिम कम गर्ने काम गरिसकेको छ । अहिलेको परियोजना पनि त्यही अनुभवलाई आधार बनाएर अघि बढाइएको हो । इसिमोडको अध्ययनअनुसार यो मकालु क्षेत्रको बरुण उपत्यकामा रहेको ठूलो हिमताल हो ।
यसको बाँध हिमनदीले थुपारेका ढुंगा, गेग्रान र अन्य पदार्थबाट बनेको छ । ताल विस्तार भइरहेकाले यसको नियमित अनुगमन आवश्यक रहेको अध्ययनले देखाएको छ ।
अझ अर्को जोखिम माथिल्लो भागबाट आउने पानी हो ।
बरुण क्षेत्रमा रहेका अन्य हिमनदी र हिमतालबाट आउने ठूलो बहाव तल्लो बरुणतर्फ आए त्यसले तालमा थप दबाब सिर्जना गर्न सक्छ । इसिमोडको स्थलगत अध्ययनले उच्च बहाव, हिमपहिरो वा अत्यधिक वर्षाका कारण यस्तो अवस्था बन्न सक्ने सम्भावनालाई पनि अध्ययन गरेको थियो ।
इसिमोड र यूएनडीपीले सन् २०२० मा सार्वजनिक गरेको अध्ययनले नेपाल, चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतका कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा ४७ सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो ।
तीमध्ये ४२ वटा कोशी नदी बेसिनमा पर्छन् । नेपालभित्र भने २१ वटा सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरिएका थिए । बाँकी जोखिमयुक्त ताल चीनको तिब्बत र एउटा भारतमा रहेको अध्ययनले देखाएको थियो ।
View : 79
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved