विराटनगर ६, मंसिर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका तीन जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो ।
किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको हो । अब अन्तिम चरणको छनोटबाट यी तीनमध्ये एक जनाले एनपिएलमा विराटनगर किंग्सको प्रतिनिधित्व गर्न पाउने छन् । विराटनगर किंग्सले कोशी प्रदेशका इलाम, झापा, सुनसरी, उदयपुर र मोरङमा ट्यालेन्ट हन्ट गरेको थियो ।
विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने रहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपीएल हुदैछ ।
प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।
विराटनगर किङ्सको टोलीमा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम रहेका छन् ।
View : 542
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved